काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता भएको छ । बुधबार काठमाडौंको राष्ट्रिय सभा गृहमा ऐतिहासिक एकता घोषणा सभाको आयोजना गर्दै दुई पार्टीले एकता गरेको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्दै एकता गरेका हुन् ।
सो क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले आज घर फर्किन पाउँदा खुसी लागेको बताएका छन् ।
काठमाडौंमा आयोजित राप्रपा र राप्रपा नेपालको एकता घोषणा सभामा उनले खुसीले होईन अत्यन्तै भारी मनले राप्रपाको घर छोडेर गएको भन्दै आज फर्किदा खुसि लागेको बताए ।
उनले भने, ‘मलाई आज घर फर्किएको अनुभव भईरहेको छ । अत्यन्तै भारी मनले राप्रपाको घर छोडेर गएको थिए, खुसिले होईन् । विभिन्न कारणले म घर छोडेर गए । अहिले घर फर्किदा खुसि पनि छु ।’
यस्तै, उनले कतिपयले बुझेर नबुझेर हारेर भागेको आरोप लगाएको भन्दै त्यो कुरा सत्य नभएको बताए ।
उनले भने, ‘त्यसबेला मलाई कतिले बुझेर नबुझेर आरोप लगाए, गिताको कसम खाएको मान्छेले पार्टी फुटायो, हारेर भाग्यो । तर ती सबै कुरा असत्य हुन् । म खेलाडी पनि भएकाले हारलाई स्वीकार्ने व्यक्ति हुँ ।’
उनले नयाँ पुरानाको भेदलाई हटाएर अब सशक्त तरिकाबाट अगाडि बढ्न सबैलाई आग्रह पनि गरेका छन् ।