नेभिगेशन
देश

काठमाडौंमा 'इन्द्रेणी रोपाइँ जात्रा’ को माध्यमबाट असार १५ फरक ढंगले मनाइयो

काठमाडौं, असार १५ – राष्ट्रिय धान दिवसको अवसर पारेर काठमाडौंको बौद्धमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले 'इन्द्रेणी रोपाइँ जात्रा' मनाएका छन्।

'मायाको पहिचान नेपाल', 'डाकिनी होस्पिटालिटी', 'लिड नेपाल' लगायतका संस्थाको आयोजनामा भएको उक्त कार्यक्रममा समुदायका व्यक्तिहरू परम्परागत 'रोपाइँ’ पर्वलाई समावेशी र पहिचान अभिव्यक्तिको रूपमा प्रस्तुत गरेका थिए।

कार्यक्रममा सहभागिहरूले परम्परागत भेषमा नाचगान गर्दै आफ्नो पहिचान, समानता र समावेशिताका पक्षमा आवाज उठाए। आयोजकहरूको भनाइमा, यो पर्वले मौलिक संस्कृतिको प्रवर्द्धन गर्नुका साथै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार र उपस्थिति स्मरण गराउने उद्देश्य राखिएको छ।

'मायाको पहिचान नेपाल'का निर्देशक सनिलबाबु पन्तले 'रोपाइँ जात्रा' जस्ता चाडपर्वले पश्चिमीभन्दा मौलिक संस्कृति बलियो बनाउने बताए। साथै, नागरिकता, विवाह, र राज्य संस्थामा प्रतिनिधित्वजस्ता मुद्दामा अझै अप्ठ्यारो रहेको उल्लेख गर्दै उनले राज्यको सकारात्मक भूमिकाको खाँचो औंल्याए।

आयोजकले यो पर्व ऐतिहासिक सांस्कृतिक भूमिकाको पुनः स्मरण र नयाँ पुस्तालाई प्रेरणा दिने प्रयास भएको बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्