नेभिगेशन
राजनीति

जसपाको समर्थन फिर्तासँगै सरकारको संविधान संशोधनको आधार नै सकिएको छ : उपाध्यक्ष खतिवडा

रिपोर्ट: दिनेश चौधरी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले वर्तमान सरकारको संवैधानिक र राजनीतिक औचित्य समाप्त भइसकेको दाबी गरेका छन्। बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले जसपा नेपालले समर्थन फिर्ता लिएपछि सरकार राष्ट्रिय सभामा अल्पमतमा परेको र संविधान संशोधनको एजेन्डा समेत अब अर्थहीन बनेको बताए।

“जसपा नेपालको समर्थन फिर्तासँगै यो सरकार बहुमत गुमाइसकेको छ,” उनले भने, “संविधान संशोधनको मूल एजेन्डा नै निष्प्रभावी भइसकेको छ, यस्तो अवस्थामा सरकारको औचित्य अब कानुनी रूपमा पनि समाप्त भएको छ।” खतिवडाले नेकपा (एकीकृत समाजवादी) सरकारको विघटनको पक्षमा दृढताका साथ उभिएको प्रस्ट पारे। उनका अनुसार अब नयाँ राजनीतिक संरचना आवश्यक छ, तर नेपाली कांग्रेस र एमालेबीचको स्वार्थको खेलले त्यो प्रक्रिया रोकिएको छ।

“सरकारमा रहेका कांग्रेस र एमालेको स्वार्थ नचुहिएसम्म परिवर्तन सम्भव नदेखिए पनि, हाम्रो पार्टी सरकारको अन्त्य र नयाँ सरकार निर्माणको पक्षमा स्पष्ट रूपमा उभिएको छ,” उनले स्पष्ट पारे। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठनको जगै अस्थिर रहेको टिप्पणी गर्दै खतिवडाले जनविश्वास गुमाउँदै गएको सरकार भ्रष्टाचार र भ्रष्टाचारीहरूको संरक्षणमा तल्लीन रहेको आरोप पनि लगाए। उनले कांग्रेस र एमालेले सरकारमा बहुमत रहेको दाबी गर्दै घमण्ड देखाइरहेको उल्लेख गरे। “सरकारमा बसेर दुई ठूला पार्टी अलोकप्रिय बन्दै गएका छन्, जनतामा विश्वास होइन, निराशा फैलिएको छ,” खतिवडाको भनाइ थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्