नेभिगेशन
देश

सामाजिक सुरक्षा भत्ता मासिक १० हजार पुर्याइनुपर्ने जेष्ठ नागरिक महासंघको  माग

रिपोर्ट: दिनेश चौधरी

राष्ट्रिय जेष्ठ नागरिक महासंघले हालको सामाजिक सुरक्षा भत्ता जीवनयापनका लागि पर्याप्त नभएको भन्दै मासिक १० हजार रुपैयाँ पुर्‍याउन माग गरेको छ। महासंघले सरकारद्वारा दिइँदै आएको मासिक ४ हजार रुपैयाँको भत्ताले ज्येष्ठ नागरिकको आधारभूत आवश्यकताहरू पूरा गर्न नसक्ने जनाएको हो।

काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले सामाजिक सुरक्षा भत्ता अत्यन्त न्यून भएको उल्लेख गरे। उनले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ज्येष्ठ नागरिकको उमेर सीमा ६८ बाट बढाएर ७० वर्ष पुर्‍याएको निर्णयप्रति आपत्ति जनाए।

WhatsApp-Image-2025-06-17-at-20.13.26_008fcc22-1750164440.jpg
 

श्रेष्ठले भने, "सरकारले भत्ता दिने उमेर ६८ बाट बढाएर ७० वर्ष पुर्‍याएको छ, जुन हाम्रो विरोधको विषय हो। जेष्ठ नागरिक ऐन २०६३ अनुसार ६० वर्ष नाघेका नागरिकलाई जेष्ठ नागरिक मानिन्छ, तर भत्ता भने ७० वर्षमाथिका मात्रलाई दिइनु अनुचित छ।"

उनले ६० वर्ष पुगेका सबै नागरिकलाई समान रूपमा सामाजिक सुरक्षा भत्ता दिनुपर्नेमा जोड दिए। साथै, उनले भत्ता वितरण प्रणालीमा पारदर्शिता र प्रभावकारिता नहुनुमा चिन्ता व्यक्त गर्दै भने, "पाउनेले पाएनन्, नपाउनेले पाए कि भन्ने प्रश्न उठेको छ। यो विषय गम्भीरताका साथ बुझिनु आवश्यक छ।"

WhatsApp-Image-2025-06-17-at-20.13.26_e4ffef10-1750164441.jpg
 

महासंघले जेष्ठ नागरिक ऐन २०६३ र नियमावली २०६५ बने पनि कार्यान्वयनमा कमजोरी देखिएको गुनासो पनि गरेको छ। उपाध्यक्ष शारदा चन्दले नेपालमा करिब ३० लाख जेष्ठ नागरिकहरू राज्यको ध्यानबाट ओझेलमा परेको बताउँदै सरकार यस विषयमा गम्भीर नभएको आरोप लगाइन्।

महासंघले स्वास्थ्य उपचारमा पूर्ण छुट, सामाजिक सुरक्षा भत्ता वडा कार्यालय वा घरमै पुग्ने व्यवस्था, र जेष्ठ नागरिकका हकहितका क्षेत्रमा विशेष जिम्मेवारी तोकिनुपर्ने माग राखेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्