नेभिगेशन
देश

मकवानपुरको सिआन पुनस्र्थापना केन्द्र र लाइफकेयर सेन्टरमा प्रशासन, प्रहरी र सिआइबीको संयुक्त अनुगमन

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मा अवस्थित सिआन पुर्नस्थापना केन्द्र र सिआन लाइफकेयर सेन्टर (मकवानपुरको पहिलो महिला सुधार गृह) मा प्रशासन, प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले संयुक्त रुपमा अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुबास चन्द्र बोहोरा र सिआइबी का प्रमुख हेमन्त चौधरीसहितको संयुक्त टोलीले बुधबार अनुगमन गरेको हो । सिआन पुनस्र्थापना केन्द्रको स्थापना कालदेखि हालसम्मका उपलब्धिहरू, सेवा प्रवाह, वैज्ञानिक अभ्यासका माध्यमबाट गरिएको उपचार पुनस्र्थापना कार्य र दीर्घकालीन योजनाबारे केन्द्रका कर्मचारी मनिश मान श्रेष्ठले विस्तृत विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले पुनस्र्थापना केन्द्रले मकवानपुरमा लागुऔषध दुरुपयोग नियन्त्रण र उपचार पुनस्र्थापना क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै भने, “सिआन पुनस्र्थापना केन्द्रले व्यवस्थित ढंगले सञ्चालन हुँदै जिल्लामा उदाहरणीय भूमिका निर्वाह गरेको छ । राज्यका निकाय र पुनस्र्थापना संस्थाबीचको सहकार्य अझ सुदृढ बन्न आवश्यक छ ।” त्यसैगरी जिल्ला प्रहरी प्रमुख एसपी बोहोराले लागुऔषध नियन्त्रणका प्रयासमा प्रशासन, प्रहरी र पुनस्र्थापना संस्थाबीचको सहकार्य अपरिहार्य रहेको बताए । उनले भने, “आगामी दिनमा अझ सशक्त सहकार्य गर्दै लागुऔषध नियन्त्रण र पुनस्र्थापना कार्यमा अघि बढ्ने प्रतिबद्धता गर्दछौं ।”
सिआन पुनस्र्थापना केन्द्रका कार्यकारी निर्देशक शौजन क्षेत्री (डी.सी.) ले केन्द्रले सेवा सञ्चालनका क्रममा सामना गरिरहेका चुनौतीबारे सरोकारवालाको ध्यानाकर्षण गराउँदै भने, “सहयोग र सहकार्यका माध्यमबाट मात्रै पुनस्र्थापना क्षेत्र अझ सुदृढ र प्रभावकारी बन्न सक्छ। हामी सधैं सरकारी निकायसँग हातेमालो गर्दै अघि बढ्नेछौं ।” कार्यक्रममा जिल्ला प्रशासन, प्रहरी, स्थानीय निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता र सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रमले मकवानपुर जिल्लामा लागुऔषध विरुद्धको लडाइँलाई संस्थागत र सहकार्यात्मक ढंगले अघि बढाउन महत्त्वपूर्ण सन्देश दिएको सहभागीहरूको भनाइ थियो ।

Photo-(2)-(11)-1762935239.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्