नेभिगेशन
देश

पटेर्वा सुगौलिद्वारा पाँच पालिकाका बासिन्दालाई मोतिविन्दुको निःशुल्क उपचार

वीरगञ्ज । संस्थागत क्षमता मूल्यांकनमा जिल्लामै उत्कृष्ट र मधेस प्रदेशमा दोस्रो स्थान हासिल गरेको पटेर्वा सुगौली गाउँपालिकाले आफ्ना बासिन्दाका लागि औषधि उपचारका क्षेत्रमा निरन्तर प्रभावकारी काम गर्दै आएको छ । 
पालिकाले आयोजना गरेको निःशुल्क आँखा शिविरमा आइतबार १६४ जना बिरामीको मोतिविन्दुको शल्यक्रिया (अपरेशन) गरी सकुशल घर फिर्ता पठाइएको छ । तिलगंगा आँखा उपचार केन्द्र, निचुटाको आयोजनामा शनिबार उपचारका लागि आएका विभिन्न पाँच पालिकाका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरी घर फिर्ता पठाइएको हो । सामुदायिक आँखा अस्पताल मकवानपुर र तिलगंगा अस्पताल काठमाडौँले पर्साको सखुवा प्रसौनी गाउँपालिका, जगर्नाथपुर गाउँपालिका, ठोरी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका र पोखरिया नगरपालिकामा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेका थिए ।

शिविरमार्फत हजारौँ जनाको आँखा परीक्षण गर्दा ६ सयभन्दा बढी बिरामीमा मोतिविन्दूको समस्या देखिएपछि निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरिएको हो । तिलगंगा आँखा अस्पताल काठमाडौँकी वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. मोहिनी श्रेष्ठको नेतृत्वमा डा. सुनिल थापा, डा. वन्दना अधिकारीलगायतको टोलीले बिरामीको आँखा शल्यक्रिया गरेको सामुदायिक आँखा अस्पताल मकवानपुरका प्रोग्राम कोअर्डिनेटर सुनिल कुमार सिंहले जानकारी दिए । उनका अनुसार केयर ब्लाइन्डनेस प्रोजेक्टको आर्थिक सहयोग र तिलगंगा अस्पतालको प्रविधिक सहयोगमा यो शिविर सञ्चालन गरिएको हो । मोतिविन्दुको समस्या देखिएका बिरामीलाई घरबाट शिविरसम्म ल्याउने, वासवास तथा खानपानको व्यवस्था गर्ने र शल्यक्रियापछि घरसम्म पु¥याउने सम्पूर्ण व्यवस्थापनको जिम्मा पटेर्वा सुगौली गाउँपालिकाले लिएको सिंहले जानकारी दिए ।

निःशुल्क आँखा शिविरको पहिलो दिन अर्थात शनिबार विभिन्न पाँच पालिकाबाट आएका बिरामीको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको थियो भने दोस्रो दिन आइतबार १५० जनाभन्दा बढीको शल्यक्रिया गर्ने तयारी भएको गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीले जानकारी दिए । उनका अनुसार बिरामीलाई पालिकाको आफ्नै गाडीमार्फत ल्याइ–ल्याइ शल्यक्रिया गराइ घरसम्म सकुशल पु¥याइएको हो । पालिकाको निचुटामा सञ्चालन भइरहेको आँखा शिविरमा ६ सय जनाको मोतिविन्दू शल्यक्रिया गर्ने लक्ष्य राखिएको छ । पहिलो र दोस्रो दिनसम्म २१५ जनाभन्दा बढी बिरामीको सफल शल्यक्रिया भइसकेको अध्यक्ष चौधरीले जानकारी दिए । उपाध्यक्ष ममता महतोका अनुसार, ‘जनताको घरआँगनको सरकारका रूपमा रहेको स्थानीय तहबाट स्वास्थ्य, शिक्षा, रोजगारीदेखि पूर्वाधार विकाससम्मको अनुभूति दिलाउन गाउँपालिकाले विभिन्न पहलहरू गरिरहेको छ ।’ उनले थपिन्, ‘नागरिकको जीवनस्तर उकास्नका लागि जीवन उपयोगी तालिम प्रदान गर्दै ती तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्न पालिकाले २०० भन्दा बढी महिलालाई सहयोग गरेको छ ।’ तालिम लिएका महिलालाई मेसिन उपलब्ध गराई पालिकाले विभिन्न वडामा स्यानिटरी प्याड, दुना–टपरी, मसला पिस्ने उद्योगजस्ता आय–आर्जनमुखी व्यवसाय सञ्चालन गराएको उपाध्यक्ष महतोले बताइन् । त्यसैगरी, सर्वसाधारणको औषधि उपचारलाई थप प्रभावकारी बनाउन जिल्लाकै पहिलो आधारभूत अस्पताल सञ्चालन गरेको पालिकाले आँखा उपचार केन्द्र निचुटाको स्थापना गरेर नागरिकलाई आँखा उपचारमा सहजता पु¥याएको पनि उनले बताए । महिला सशक्तिकरणलाई आफ्नो मूल मन्त्र बनाउँदै आएको गाउँपालिकाले निचुटामा आयोजना गरेको निःशुल्क आँखा शिविरमा सबैभन्दा बढी महिलाको आँखा शल्यक्रिया गरिएको उपाध्यक्ष महतोले बताइन् ।

Screenshot-2025-11-10-124800-1762739251.jpg
Screenshot-2025-11-10-124737-1762739254.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्