काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघ परिवारले मलेसिया सरकारको विदेश मन्त्रालयले २७ अक्टोबरमा मलेसियास्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई पठाएको १० बुँदे मापदण्डसहितको पत्रप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।
संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त पत्रको प्रावधानले सीमित व्यवसायीलाई मात्र मलेसिया रोजगारीमा संलग्न हुने अनुमति दिने र त्यसका माध्यमबाट सिण्डिकेट प्रणाली स्थापनाको प्रयास भइरहेको दाबी गरेको छ।
संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “मलेसिया सरकारको प्रस्तावले नेपालसहित स्रोत देशहरूमा सिण्डिकेट स्थापनाको संकेत दिएको छ, जसले निष्पक्ष प्रतिस्पर्धा, पारदर्शिता र समान रोजगारीको अवसरमा प्रत्यक्ष असर पुर्याउनेछ। यस्तो कदमले पेशागत स्वतन्त्रता, संवैधानिक अधिकार र कानूनी व्यवस्थाको उल्लङ्घन गर्दै एकाधिकार बजार सिर्जना गर्ने खतरा देखिन्छ,” विज्ञप्तीमा उल्लेख छ।
संघका अनुसार नेपाल सरकारबाट इजाजत प्राप्त व्यवसायीहरूले वैदेशिक रोजगार क्षेत्रमा कानूनी प्रक्रिया, सरकारी नीति र पारदर्शी अभ्यासअनुसार काम गर्दै आएका छन्। तर, केही मुठ्ठीभर व्यवसायी वा गैरव्यवसायीलाई मात्र फाइदा पुर्याउने यस्तो षड्यन्त्रले सम्पूर्ण व्यवसायीको स्वतन्त्र व्यवसायिक अधिकार, श्रमिकको हक र सरकारको श्रम नीतिलाई कमजोर बनाउने संघको ठहर छ।
संघले सिण्डिकेट प्रवृत्तिको घोर विरोध गर्दै सबै व्यवसायीहरूलाई यस्तो गतिविधिका विरुद्ध एकजुट हुन आह्वान गरेको छ। विज्ञप्तीमा भनिएको छ, “मलेसिया वा नेपालभित्र विभिन्न नाम र स्वरूपमा देखा परेका सिण्डिकेटका प्रस्ताव वा सम्झौतामा सहभागी हुने, समर्थन गर्ने वा सहमति जनाउने कुनै पनि व्यक्ति, संस्था वा समूहमाथि आवश्यक निर्णय वा कारबाही गर्न संघ पछि हट्ने छैन।”
संघका महासचिव रमेश कुमार बस्नेतले वैदेशिक रोजगार क्षेत्र कुनै एक वर्ग वा समूहको स्वार्थका लागि नभएको स्पष्ट पार्दै भने, “यो सम्पूर्ण व्यवसायीको साझा अधिकार र श्रमिकको हितसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो। संघले एकाधिकार, गुटबन्दी र अनुचित गठबन्धनविरुद्ध दृढतापूर्वक प्रतिरोध गर्नेछ।”
संघले नेपाल सरकारका सम्बन्धित निकाय — श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार विभाग —को ध्यानाकर्षण गराउँदै यस्ता सिण्डिकेट प्रवृत्तिलाई कुनै पनि रूपमा स्वीकृति नदिन आग्रह गरेको छ। महासचिव बस्नेतले व्यवसायीहरूलाई सतर्क रहन र आवश्यकता परे संघर्षका लागि तयार रहन पनि आह्वान गरे।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष मोहन सिंह गुरुङले समेत मलेसिया रोजगारीमा देखिएका सिण्डिकेट गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले भने, “हामी २५ वर्षदेखि यस क्षेत्रमा छौं, अब फर्किने ठाउँ छैन। मलेसियासँगको कूटनीतिक सम्बन्ध र मर्यादालाई सम्मान गर्दै काम गर्नुपर्छ।”
गुरुङले सबै पक्षलाई गलत अभ्यासबाट पछि हट्न आग्रह गर्दै नेपाल सरकार पनि यस विषयमा सचेत रहेको विश्वास व्यक्त गरे।

