नेभिगेशन
संस्कृति

विश्व संगीत दिवसको अवसरमा काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम आयोजना हुने

रिपोर्ट: दिनेश चौधरी

१ असार, काठमाडौं — विश्व संगीत दिवसको अवसर पारेर राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। थारू भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको मञ्चका केन्द्रीय अध्यक्ष विनय वैद्यले जानकारी दिए। उनका अनुसार, यही अवसर पारेर मञ्चले आफ्नो वार्षिक साधारणसभा पनि सञ्चालन गर्नेछ। अध्यक्ष वैद्यले भने, “संगीत दिवस विश्वभर मनाइरहेको बेला हामीले थारू भाषा, धर्म, संस्कृति र पहिचानको संरक्षणमा सरकारको ध्यानाकर्षण गराउने प्रयासस्वरूप देशभरका कलाकारहरूको सहभागितामा सांस्कृतिक कार्यक्रम गर्दैछौं।” कार्यक्रममा मेचीदेखि महाकालीसम्मका ५० भन्दा बढी थारू कलाकारहरूले भाग लिनेछन्। उनीहरूले थारूको मौलिक लोकगीत, धुम्रा नाच, झुम्रा, मघौटा लगायत विविध परम्परागत नाचगान प्रस्तुत गर्नेछन्।

कार्यक्रम पहिलो दिन नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीको हलमा “भाषा, कला–संस्कृति हमर शान, पहिचान बचैना हमार अभियान” भन्ने नारासहित हुने बताइएको छ। दोस्रो दिन भने मञ्चको वार्षिक साधारणसभा हुनेछ, जहाँ केही विधान संशोधनसमेत गरिनेछ। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका राज्यमन्त्री अरुण कुमार चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। साथै, कार्यक्रममा थारू परिकारहरू चाख्न स्टल राखिनेछ भने थारू समुदायको परम्परागत पहिरन, गहना र सांस्कृतिक सामग्रीहरूको प्रदर्शनीसमेत गरिने मञ्चले जनाएको छ।

अध्यक्ष वैद्यका अनुसार, राष्ट्रिय स्तरमा पहिलोपटक यस्तो बृहत सांस्कृतिक कार्यक्रम हुन लागेको हो र कार्यक्रमका लागि काठमाडौंका विभिन्न स्थानमा टिकट बिक्री खुला गरिएको छ। पत्रकारसँगको कुराकानीमा उनले भने, “यो कार्यक्रम केवल मनोरञ्जनका लागि होइन, बरु थारू पहिचानको संरक्षण र सशक्तिकरणतर्फको महत्वपूर्ण प्रयास हो। हामी चाहन्छौं, अन्य जातिहरूले पनि आफ्नो कला र संगीतको संरक्षणप्रति चेतना विकास गरून्, र हाम्रो भाषा पनि बच्न सकोस्।”

कार्यक्रममा सहभागी हुन प्रवेश शुल्क १,००० रुपैयाँ तोकिएको छ। टिकटको प्रि-बुकिङ खुलिसकेको छ भने कार्यक्रम स्थलमै पनि टिकट उपलब्ध हुने व्यवस्था गरिएको छ। साथै, मञ्चले सम्पूर्ण थारू संघसंस्था, संस्कृति प्रेमी तथा सरोकारवालालाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्