नेभिगेशन
देश

दक्षिण कोरिया जाने विद्यार्थीको आक्रोश : "एनओसी रोकेर सरकारले भविष्यसँग खेलबाड गर्यो, तत्काल खोलियोस्"

रिपोर्ट: दिनेश चौधरी

दक्षिण कोरियामा स्नातक तथा भाषा अध्ययन गर्न 'D-2' र 'D-4' भिसामा जान चाहने नेपाली विद्यार्थीहरूले सरकारको एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) स्थगन निर्णयप्रति तीव्र असन्तोष व्यक्त गरेका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पीडित विद्यार्थीहरूले सरकारको निर्णय अन्यायपूर्ण र विभेदकारी भएको आरोप लगाउँदै एनओसी तत्काल खुलाउन माग गरेका हुन्। विद्यार्थी आयु सिंहले बिना पूर्वसूचना र स्पष्ट कारण एनओसी रोकिएको भन्दै गम्भीर आपत्ति जनाए। उनले भने, "हामी ब्ल्याकलिस्टेड विश्वविद्यालयमा जान लागेका छैनौं, सरकारले किन बिना कारण एनओसी रोकेको हो? कतै चलखेल त भएको छैन?" उनले सर्वोच्च अदालतबाट समेत न्याय नपाएको भन्दै निराशा व्यक्त गरे। उनको अनुसार, आठ विद्यार्थीले अदालतमा रिट दायर गरेपछि मात्र एनओसी प्राप्त भएको छ, तर बाँकी विद्यार्थी भने अझै पनि बञ्चित छन्। शिक्षा मन्त्रालयले वैशाख २७ गते अघि एनओसी आवेदन दिएका विद्यार्थीलाई मात्र सिफारिस गरिने सूचनाले विभेद देखाएको उनको भनाइ छ।

WhatsApp-Image-2025-06-09-at-6.01.03-PM-(3)-1749464358.jpeg
विद्यार्थी तारा ढकालले सबै पीडित विद्यार्थीको तर्फबाट मिडियामा प्रस्तुत भएको बताउँदै भनिन्, “कोरियाको टप युनिभर्सिटीमा आवेदन दिएका हौं, तर सरकारले समान व्यवहार गरेन। वैशाख २७ अघि आवेदन दिएको वा अदालत पुगेका मात्र योग्य हुने त के अर्थ?” ल्हामु शेर्पाले २०२५ सेप्टेम्बर इन्टेकका लागि तयारी गर्दै गर्दा एनओसी एक्कासी रोकिएर ठूलो मानसिक र आर्थिक क्षति भएको बताइन्। उनले भने, “८ जनालाई मात्र न्याय किन? सबै विद्यार्थीलाई समान व्यवहार गरिनुपर्छ।” अभिभावक दुर्गा कुँवरले समेत एनओसी रोकिनु अभिभावकहरूका लागि समेत तनावपूर्ण भएको बताए। “दुई छोराछोरी पहिले नै कोरिया गइसकेका छन्, कान्छोले तयारी सकेको थियो। अहिले अन्यायमा परियो,” उनले गुनासो गरे। विद्यार्थी सराना नकर्मीले भिसा प्रक्रिया अन्तिम चरणमा पुग्दा एनओसी रोकिँदा विरोध गर्नुपरेको बताउँदै सरकारप्रति ध्यानाकर्षण गराइन्। “एक महिनादेखि आन्दोलन गर्दै आएका छौं। विदेश जानु भनेको पढ्न र सीप लिएर फर्किनु हो, बाधा होइन,” उनको भनाइ थियो। अन्य विद्यार्थी अञ्जना राई दनुवार र रेखा मगरले पनि एनओसी रोकिँदा आफ्नो भविष्य संकटमा परेको बताउँदै तत्काल सिफारिस प्रक्रिया खुलाउन माग गरे। “हामी महिनौंदेखि तयारी गर्दै थियौं, लाखौं खर्च गरेर कागजात तयार पारिएको छ,” रेखाले भनिन्।

WhatsApp-Image-2025-06-09-at-6.01.03-PM-(6)-1749464355.jpeg
सरकारले कन्सल्टेन्सीको प्रलोभनमा परेर कोरिया जाने विद्यार्थीहरू समस्यामा परेपछि, सिओलस्थित नेपाली दूतावासको सिफारिसमा एनओसी सिफारिस स्थगन गरेको जनाएको छ। तर, यसले वैधानिक प्रक्रिया पूरा गरेका विद्यार्थीहरूलाई समेत प्रतिकूल असर पारिरहेको छ।

WhatsApp-Image-2025-06-09-at-6.01.02-PM-(1)-1749464367.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्