नेभिगेशन
राजनीति

राहदानी रोक्का सिफारिसप्रति एमालेको आपत्ति

काठमाडौं । भदौ २३ र २४ गतेका घटनाबारे जाँचबुझ आयोगले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताको राहदानी रोक्का गर्न सिफारिस गरेको विषयमा एमालेले कडा आपत्ति जनाएको छ।

आइतबार वक्तव्य जारी गर्दै एमाले केन्द्रीय सचिवालयले उक्त सिफारिसलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएको छ। दशैंको समयमा गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गर्दै आयोगले यस्तो सिफारिस गरेको भन्दै सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको हो। सचिवालयले भनेको छ, “यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामाथि नै प्रश्न खडा गरेको छ।”

साथै, एमालेले भदौ २४ गतेको घटनामा संलग्न दोषीमाथि कारबाही नगर्न गृह मन्त्रालयले प्रहरीलाई दिएको निर्देशनप्रति पनि गम्भीर ध्यानाकर्षण गराएको छ। सचिवालयका अनुसार सो निर्देशनले प्रहरीको स्वतन्त्र अनुसन्धानमा हस्तक्षेप मात्र नभई अपराधीलाई उन्मुक्ति दिने प्रयास भएको देखिन्छ।

वक्तव्यमा भनिएको छ, “यसले अपराध अनुसन्धान गर्ने प्रहरीको कानुनी अधिकार खोस्ने मात्र होइन, अपराधीहरूको मनोबल बढाउने खतरनाक संकेत बोकेको छ।”

यसबीच, पछिल्ला राजनीतिक र सुरक्षासम्बन्धी घटनाक्रमबारे छलफल गर्न एमालेले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। दशौँ केन्द्रीय समिति बैठक आगामी असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्ने छ भने त्यसअघि असोज १९ र २० गते सचिवालय बैठक हुने पार्टीले जनाएको छ।

Photo-(4)-(1)-1759116797.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्