जेन–जी आन्दोलनसँग जोडिएका विभिन्न समूहले भदौ २३ देखि २५ सम्म भएका घटनाबारे अनुसन्धान, अभियोजन, न्याय, क्षतिपूर्ति, स्मृतिगठन र पुनः त्यस्ता घटना नदोहोरिन संस्थागत सुधार गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
समूहले नेपालमा देखिएको संस्थागत भ्रष्टाचार, सार्वजनिक संस्थाको राजनीतिकरण र राजनीतिक नियुक्तिको अन्त्य गर्न माग गरेका छन्। साथै, संविधानमा आवश्यक सुधार गरी आगामी छ महिनाभित्र जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनेगरी निर्वाचन प्रणाली परिमार्जन गर्नुपर्ने उनीहरुको भनाइ छ। राष्ट्राध्यक्षको प्रत्यक्ष निर्वाचनबारे व्यापक नागरिक छलफल गर्नुपर्ने प्रस्तावसमेत अघि सारिएको छ।
आन्दोलनमा बाह्य स्वार्थ समूह र आपराधिक गिरोहले घुसपैठ गरी राज्य आतंक र शक्ति प्रयोगमार्फत आन्दोलनलाई दवाउन खोजिएको आरोपसमेत लगाइएको छ। आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा रिजन राना मगर, पेमा वाङ्मो मुगुम र मोनिका निरौलाले आन्दोलनका तर्फबाट सम्बोधन गरेका थिए।
आन्दोलनलाई स्वार्थपूर्ति गर्नेहरुले अपहरण गरेको भन्दै उनीहरुले घोर आपत्ति जनाए। आन्दोलनले सरकार, नेतृत्व र दलप्रति जनताको विश्वास गुमिसकेको स्पष्ट सन्देश दिएको दाबी गर्दै माग सम्बोधनका लागि राज्य र आन्दोलन पक्षबीच सम्झौता आवश्यक भएको औंल्याए।
उनीहरुले आफ्नो आन्दोलन लोकतान्त्रिक व्यवस्थाविरुद्ध नभई व्यवस्थालाई कमजोर बनाउने राजनीतिक नेतृत्व, दल र प्रवृत्तिमाथि लक्षित रहेको स्पष्ट पारे। साथै, संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, पूर्ण समानुपातिक समावेशीता र अर्थपूर्ण सहभागिताप्रति अडिग रहेको दोहोर्याए।
३९ जिल्लाका प्रतिनिधिसहित १२ वटा जेन–जी समूहको सहमतिमा तयार गरिएको ‘जेन–जी नेतृत्वमा भएको जनआन्दोलनको जनादेशसम्बन्धी प्रस्तावित सम्झौता’ गत असोज ६ गते नै प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइसकेको जानकारी पनि दिइयो।