नेभिगेशन
राजनीति

अर्थमन्त्री र विभिन्न मुलुकका राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र नेपालका लागि विभिन्न मित्रराष्ट्रका राजदूतबीच सोमबार अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ।

भेटमा यूरोपियन यूनियनकी राजदूत भेरोनिक लोरेन्जो, जर्मनीका राजदूत उडो यूजेन भोल्ज, फिनल्याण्डका राजदूत पेट्री पुहक्का र फ्रान्स दूतावासका प्रतिनिधि सहभागी थिए।

अवसरमा मन्त्री खनालले नेपालका सामाजिक तथा आर्थिक विकासमा यूरोपियन यूनियन, जर्मनी, फिनल्याण्ड र फ्रान्सले पुर्याउँदै आएको दीर्घकालीन सहयोगप्रति आभार व्यक्त गरे। उनले सार्वजनिक वित्त व्यवस्थापन, खरिद प्रक्रिया, मानव स्रोत विकास, स्वास्थ्य, पर्यटन, ऊर्जा र राजस्व व्यवस्थापनलगायत क्षेत्रमा सहयोग उल्लेखनीय रहेको बताए।

सहभागी राजदूतहरूले नेपालमा सम्पन्न राजनीतिक रूपान्तरणपछि पनि निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।

यसै दिन मन्त्री खनाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा. ड्यानियली म्युलरबीच पनि शिष्टाचार भेट भएको थियो। भेटमा मन्त्री खनालले आर्थिक विकासदेखि व्यवसायिक तालिम, प्रादेशिक तथा स्थानीय सुशासन र क्षमता विकाससम्म स्वीट्जरल्याण्डले दिएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे।

स्वीस राजदूत डा. म्युलरले नेपालजस्तो हिमाली देशसँग सहकार्य गर्न पाउँदा सन्तोष व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने आश्वासन दिए।

Photo-(2)-(6)-1759056225.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्