नेभिगेशन
राजनीति

ट्रान्सपोर्टेसन र कुकिङ सेक्टरलाई पूर्ण रूपमा विद्युतीय बनाउन आवश्यक : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले देशभरको यातायात र खाना पकाउने (कुकिङ) क्षेत्रलाई पूर्ण रूपमा विद्युतीय बनाउनुपर्ने बताएका छन्।

आइतबार राजधानीमा एक इभी चार्जिङ स्टेसन उदघाटन गर्दै उनले पेट्रोलियम पदार्थको आयात घटाउन र विदेशी मुद्रा सञ्चिति बढाउन ऊर्जा रुपान्तरण अपरिहार्य भएको स्पष्ट पारे। “सार्वजनिक यातायातदेखि निजी सवारीसम्म सबैलाई विद्युतीय माध्यममा लैजानुपर्छ। यसले पेट्रोल र डिजेल आयात घटाएर देशको रिजर्भ बढाउँछ,” मन्त्री घिसिङले भने।

उनले एलपी ग्यास प्रयोगलाई हटाएर विद्युत्मार्फत खाना पकाउने प्रविधि अवलम्बन गर्नुपर्नेमा जोड दिए। ग्रीन हाइड्रोजन, औद्योगिक उत्पादन र इँटा उद्योगलगायतका क्षेत्रमा पनि बिजुली प्रयोग गर्न सकिने उनले औंल्याए।

“नेपालको कार्बन उत्सर्जन न्यून भए पनि हामी कार्बन न्यूट्रल मात्र नभई कार्बन नेगेटिभतर्फ जानुपर्नेछ,” उनले थपे। यसका लागि आवश्यक पूर्वाधार, विशेषगरी चार्जिङ स्टेसनको विस्तार, अनिवार्य भएको उनको भनाइ थियो।

मन्त्री घिसिङले नेपालमा उत्पादित जलविद्युतलाई सबै क्षेत्रमा प्रयोग गरेर दिगो ऊर्जा उपयोगको नयाँ युग सुरु गर्नुपर्ने बताउँदै भने, “आगामी दिनमा नेपालको भविष्य उज्यालो छ, हाम्रै जलविद्युतले सबै क्षेत्र उज्यालो पार्नेछ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्