नेभिगेशन
राजनीति

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता हुँदैनः बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा राजनीतिक स्थिरता कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली आवश्यक रहेको बताएका छन्।

विहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले लोकतान्त्रिक स्थायित्व र सुशासनका लागि शासकीय संरचनामा समयअनुरूप सुधार अनिवार्य भएको बताए। “स्थिरता नभएसम्म सुशासन र समृद्धि सम्भव छैन। त्यसका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा कार्यकारी प्रणालीतर्फ जानैपर्छ। नत्र फेरि भ्रष्ट्रहरूले चलखेल गरेर सत्तामा फर्किने र तपाईँहरूको बलिदान खेर जाने खतरा रहन्छ,” भट्टराईले चेतावनी दिए।

उनका अनुसार अबको निर्वाचनअघि नै व्यवस्थामा आवश्यक सुधार गर्नुपर्नेछ। उनले निर्वाचन प्रणालीमै त्रुटि रहेको उल्लेख गर्दै भने, “हामीले व्यवस्था बदल्न खोजेका होइनौं। तर भ्रष्ट्रलाई जन्माउने र सत्तामा पुर्‍याउने खाम्ती रोक्न केही महत्वपूर्ण सुधार गरेर मात्र निर्वाचनमा जानुपर्छ।”

संविधान निर्माणको समयमा नै आफूले यस प्रणालीलाई “आधा गिलास भरिएको, आधा खाली” भनेको स्मरण गराउँदै उनले थपे, “शासकीय त्रुटिका कारण कुनै दललाई बहुमत आउन सक्दैन, सरकार पाँच वर्ष टिक्दैन।”

डा. भट्टराईले निर्वाचन अघि नै भ्रष्ट्राचारीविरुद्ध कारबाही गर्न विशेष छानबिन आयोग गठन गर्नुपर्ने माग समेत गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्