नेभिगेशन
राजनीति

पार्टी एकताका लागि पाँच दलका केन्द्रीय नेताले गरे संयुक्त अपिल

काठमाडौं । समाजवादी धारका पाँच दलका केन्द्रीय नेताहरुले पार्टी नेतृत्वलाई एकताको लागि संयुक्त अपिल गरेका छन्।

अपिल गर्नेहरुमध्ये उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, अशोक राईको जनता समाजवादी पार्टी, नागरक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का केन्द्रीय नेताहरु रहेका छन्।

साझा अपिलमार्फत उनीहरुले समान विचार, सिद्धान्त र मुद्दा बोकेका दललाई एकताबद्ध गरेर वैकल्पिक राजनीतिक शक्ति निर्माणतर्फ अघि बढ्न नेतृत्वलाई आग्रह गरेका छन्।

अपिलमा भनिएको छ, “संघीय लोकतान्त्रिक गणतन्त्र आत्मसात् गर्ने समाजवादी विचारमा आस्था राख्ने युवा प्रतिनिधिहरुका हैसियतले हामी जेन–जी आन्दोलनपश्चातका घटनाक्रममा छलफल गर्दा साझा निष्कर्षमा पुगेका छौँ। विगतका कमजोरी सच्याउँदै समाजवादी आन्दोलनलाई सुदृढ र एकीकृत बनाउन सम्बद्ध दलका नेतृत्वले कदम चाल्नुपर्छ।”

नेतृत्वले मुलुकको आवश्यकता, आन्दोलनको मर्म, कार्यकर्ताको भावना र आम सदस्यको अपेक्षालाई आत्मसात् गर्नुपर्ने माग पनि अपिलमार्फत गरिएको छ।

संयुक्त अपिलमा जसपा नेपालबाट केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख पूर्ण बस्नेत र खेमराज खड्का, लोसपा नेपालबाट रामेश्वर यादव र सुजन यादव, जसपाबाट प्रेमनारायण थापा, अर्जुन लम्साल र ज्ञानु आचार्य, नागरिक उन्मुक्ति पार्टीबाट दीपबहादुर तामाङ, गीता चौधरी र दोर्जे तामाङ तथा नेसपा (नयाँ शक्ति) बाट विष्णु प्रसाद पौडेल र प्रकाश भट्टराईको हस्ताक्षर रहेको छ।

Photo-(18)-1758782158.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्