नेभिगेशन
राजनीति

मन्त्री बन्न लागेकी डा.संगीताको नाम काटिंदा तरंग– ‘अन्याय मात्र होइन अत्याचार नै भयो’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्न लागेकी डा. संगीता कौशल मिश्राको नाम अन्तिम समयमा हटाइएपछि देशभर चर्को बहस सुरु भएको छ।

गत आइतबार प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले डा. मिश्रालाई मन्त्रीका लागि सिफारिस गरेको थियो। तर सोमबार शपथग्रहणको अघिल्लो क्षण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेको समाचार सार्वजनिक भएपछि उनको नाम हटाइएको हो।

यसअघि पनि स्वास्थ्य सचिवमा बढुवाको क्रममा वरीयतामा पहिलो भएपनि तत्कालीन केपी शर्मा ओली सरकारले उनलाई पदोन्नति नगरी दोस्रो वरीयतामा रहेका डा. विकास देवकोटालाई सचिव बनाएको थियो। त्यसपछि आफूलाई अन्याय भएको भन्दै उनले छ महिनासम्म विदा लिएकी थिइन्।

यसपटक मन्त्री बन्ने सिफारिस भएपछि फेरि विवादमा तानिएकी डा. मिश्रालाई समर्थन गर्ने र विरोध गर्ने दुबै आवाजहरू मुखर भएका छन्। विश्लेषक तुलनारायण शाहले सामाजिक सञ्जालमार्फत "पहिला अन्याय, अहिले अत्याचार" भन्दै खुलेर अभिव्यक्ति दिएका छन्। कांग्रेस नेता विमलेन्द्र निधि, स्वतन्त्र नेता अमरेश कुमार सिंह, ट्रेड युनियनका अजयकुमार राईलगायतले पनि उनको नाम हटाइएको घटनालाई अन्यायपूर्ण भनेका छन्।

डा. मिश्राको नाम राष्ट्रपति कार्यालयमा पठाइसकेर समेत सार्वजनिक भइसकेको अवस्थामा अन्तिम समयमा शपथ रोकिँदा सरकारमाथि नै प्रश्न उठाइएको छ। कतिपयले यसलाई उच्च तहको षड्यन्त्र र मिडिया–ट्रायलको परिणाम भनेका छन् भने अरूले आन्दोलनको भावना विपरीत नियुक्ति गर्न नहुने तर्क गरेका छन्।

यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञसमेत रहेकी डा. मिश्र अतिरिक्त सचिव पदमै रहेर मन्त्रीमा सिफारिस हुने सम्भावित पहिलो महिला हुन्। तर शपथग्रहणकै दिन नाम काटिँदा उनको राजनीतिक भविष्य पुनः अनिश्चित बनेको छ।

Photo-(3)-(5)-1758781300.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्