नेभिगेशन
राजनीति

मन्त्री घिसिङ र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका राजदूत चेन सोङबीच बुधबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

भेटका क्रममा राजदूत सोङले नवनियुक्त मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

वार्तामा नेपाल–चीनबीचको सडक तथा विद्युत् प्रसारण लाइन कनेक्टिभिटी, चिनियाँ कम्पनीले ठेक्का लिएका आयोजना, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ सहयोगमा सञ्चालित परियोजनाको प्रगति, र भविष्यका लगानी सम्भावनाबारे विस्तृत छलफल भएको थियो।

मन्त्री घिसिङले काठमाडौं–कोदारी (अरनिको) र स्याप्रुबेंसी–रसुवागढी सडकलाई नेपाल–चीन जोड्ने महत्वपूर्ण नाकाका रूपमा औंल्याउँदै, पहिरो र भौगोलिक कमजोरीका कारण जोखिमपूर्ण रहेका यी सडकलाई स्थायी रुपमा सञ्चालन गर्न चिनियाँ प्रविधि प्रयोग गरेर मर्मत तथा पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरे।

त्यस्तै, उनले काठमाडौं चक्रपथ विस्तारअन्तर्गत चिनियाँ अनुदानमा बन्ने कलङ्की–बसुन्धरा खण्डको काम तत्काल सुरु गर्न, अरुण नदी करिडोरमा निर्माणाधीन जलविद्युत आयोजनाहरूलाई सहज बनाउन किमाथाङ्काबाट अर्को अन्तरदेशीय प्रसारण लाइन अघि बढाउनुपर्नेमा जोड दिए।

उनले चिनियाँ कम्पनीले जिम्मा लिएका कमला–कञ्चनपुर आयोजना, नारायणघाट–बुटवल र मुग्लिन–पोखरा सडक विस्तारको काम सन्तोषजनक नभएको भन्दै तिनमा गति दिन आवश्यक सहयोग र सहजीकरणका लागि राजदूतसँग पहल गर्न अनुरोध गरे।

जवाफमा राजदूत सोङले नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा सहयोग गर्न चीन सधैं तयार रहेको स्पष्ट पारे।

भेटमा मन्त्रालयका सचिव केशवकुमार शर्मा, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सुशीलबाबु ढकाल, सडक विभागका महानिर्देशक विजय जैशी, परराष्ट्र मन्त्रालय उत्तरपूर्व एशिया महाशाखाका उपसचिव मनहरी दङ्गाललगायतको सहभागिता रहेको थियो।

Photo-(3)-(4)-1758709749.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्