नेभिगेशन
राजनीति

नर्वाचनको तयारी अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी ०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका तयारीलाई तीव्र बनाउन निर्देशन दिनुभएको छ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलमा प्रधानमन्त्रीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी ढंगले सम्पन्न गर्नु सरकारको प्रमुख प्राथमिकता भएको स्पष्ट पारिन्।

उनले सरकारको तर्फबाट आयोगलाई आवश्यक स्रोतसाधन र जनशक्ति उपलब्ध गराइने, शान्ति–सुरक्षाको भरपर्दो व्यवस्था मिलाइने र अनुकूल वातावरण बनाउन सरोकारवालाहरूसँग निरन्तर छलफल गरिने उल्लेख गर्दै निर्वाचन तयारीका सम्पूर्ण कार्य तत्काल अघि बढाउन आग्रह गरिन्।

छलफलमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले निर्वाचन सम्पन्न गर्न आवश्यक मतपेटिकालगायतका सामग्री मौज्दातमै रहेको र बाँकी सामग्री स्वदेशमै उत्पादनलाई प्राथमिकता दिँदै प्रतिस्पर्धात्मक विधिबाट खरिद गरिने बताए। उनले राजनीतिक दल र सरोकारवालासँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै सरकारले सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइदिन पनि अनुरोध गरे।

बैठकमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, गृहमन्त्री ओम प्रकाश अर्याल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हा, मुख्य सचिव एकनारायण अर्याललगायत सरकारी अधिकारी तथा निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधर, सगुन सम्शेर जबरा, सचिव महादेव पन्थलगायतको उपस्थिति थियो।

Photo-(9)-1758680205.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्