नेभिगेशन
राजनीति

जेनजी आन्दोलनमा पश्चिमाहरुको खेल छ, अब हामी निर्णायक आन्दोलन गर्छौं : दुर्गा प्रसाईं

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जेनजी आन्दोलनलाई पश्चिमाहरुको खेल भएको दाबी गरेका छन्। मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले आन्दोलनमार्फत युवालाई उचालेर मार्ने षड्यन्त्र भइरहेको टिप्पणी गर्दै अब आफूहरूले निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

प्रसाईंले भने– “मैले सुरुमा भ्रष्टाचारविरुद्ध जेनजीले उठाएका मुद्दा पवित्र ठानेर सहयोग गर्नुपर्ने कुरा पोस्ट गरेको थिएँ। तर दुई घण्टामै महानगर प्रमुख बालेन साहले २८ वर्ष मुनिका मात्र आन्दोलनमा सहभागी हुने भनेर लेखेपछि यो पश्चिमाहरुको खेल हो भन्ने प्रस्ट भयो। बच्चाहरुलाई उचालेर मर्ने काम भइरहेको छ भन्ने टिमसँग पनि सल्लाह गरें।”

उनका अनुसार आन्दोलन सुरु भएपछि राज्यले गरेको बर्बर दमन र त्यसपछिका अराजक घटनाले विदेशी हस्तक्षेप बढेको पुष्टि गरेको छ। उनले भने– “कलिला बच्चाको आन्दोलनमा नेतृत्व गर्ने कोही भएन, हामी रमिते मात्रै भयौं। भोलिपल्ट सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म आगजनी भयो। यो अस्वीकार्य कुरा हो।”

प्रसाईंले अहिले बनेको सरकार जेनजीको नभई विदेशी फाउन्डेसनको प्रभावमा चलेको आरोप पनि लगाए। उनका अनुसार, “जेनजीलाई हाइज्याक गरेर बारबरा फाउन्डेसन र समता फाउन्डेसनका प्रतिनिधि मन्त्री बनेका छन्। यो सरकार वास्तवमा विदेशी फाउन्डेसनको हो।”

दशैंपछि हिन्दु अधिराज्यको माग गर्दै निर्णायक आन्दोलन गर्ने घोषणा गर्दै उनले भने– “हामी दशैं, तिहार र छठपछि नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्रका आधारमा, किराँत–बौद्धसहितको हिन्दु अधिराज्य कायम गर्ने मागसहित सडकमा उत्रनेछौं। यो माग पूरा नभएसम्म आन्दोलन रोकिँदैन।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्