सिराहा। सिराहा जिल्लाको गोलबजार नगरपालिका–१३ डंग्राहा गाउँका १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या गरिएको अवस्थामा शव फेला परेको छ। चार दिनदेखि बेपत्ता रहेका उनको शव सोमबार बिहान करिब ६ बजे घरदेखि करिब १०० मिटर पूर्व, जनता आधारभूत विद्यालय नजिकै आँपको रुखमुनि क्षतविक्षत अवस्थामा भेटिएको हो। दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रारम्भिक अनुसन्धानअनुसार अभिषेकको खुट्टामा छालामा चोट, शरीरमा नीलडाम देखिएको र हत्या गरेपछि शवमा आगो लगाइएको वा एसिड खन्याइएको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तकुमार शर्माले यो घटना अपहरणपछि हत्या भएको स्पष्ट देखिएको बताउँदै मधेश प्रदेश प्रहरी मुख्यालयबाट फरेन्सिक विज्ञ र तालिमप्राप्त कुकुरसहितको टोली ल्याएर अनुसन्धान भइरहेको जानकारी दिए।
अभिषेक असोज ५ गते राति खाना खाएपछि घर बाहिर निस्किएर बेपत्ता भएका थिए। भोलिपल्ट बिहान उनकी आमाको इमो खातामा अपहरणकारीले ५ करोड रुपैयाँ फिरौती माग्दै सन्देश पठाएका थिए। परिवारले तत्काल प्रहरीमा उजुरी दिए पनि जीवित उद्धार सम्भव भएन।
सात वर्षअघि बुबा सञ्जय सिंहको करेण्ट लागेर मृत्यु भएपछि अभिषेक परिवारको एक मात्र सहारा बनेका थिए। पढाइ छाडेर उनी सिटी रिक्सा र ट्रयाक्टर चलाउँदै परिवार पाल्दै आएका थिए।
बालकको हत्या भएपछि डंग्राहा गाउँ शोक र त्रासमा डुबेको छ। गाउँभर रुवाबासी छाएको छ भने स्थानीयले सुरक्षा संकट बढेको महसुस गरिरहेका छन्। प्रहरीका अनुसार अपराधीलाई पक्रेर कानुनी दायरामा ल्याउने प्रयास भइरहेको छ।
अभिषेकका हजुरबुवाले भने– “रातभर खोजतलास गरियो तर फेला परेन। भोलिपल्ट बिहान ८ बजे आमाको इमोमा सन्देश आयो, ‘५ करोड रुपैयाँ लिएर आउनु, अभिषेक हाम्रो कब्जामा सुरक्षित छ।’ त्यसपछि मात्रै अपहरण भएको थाहा भयो। हामीले तत्काल प्रहरीलाई निवेदन दिएका थियौं तर जीवितै उद्धार हुन सकेन।”
-1758620009.jpeg)
-1758620012.jpeg)