काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रूपमा जिम्मेवारी सम्हालेपछि महावीर पुनले आफ्नो काम गर्ने शैलीबारे स्पष्ट बताएका छन्। सोमबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेका उनले पदभार ग्रहण गरेका हुन्।
पदभार सम्हालेपछि मन्त्री पुनले मन्त्री क्वार्टर नलिने, सरकारी सुविधा न्यूनतम मात्र प्रयोग गर्ने र मन्त्रालयमै बस्ने बताएका छन्। उनले भने, “मलाई मन्त्री क्वार्टर चाहिँदैन, यही मन्त्रालयमै एउटा कोठा बनाए पुग्छ। त्यहाँ खाट, टेबुल र कुर्सी भए पर्याप्त हुन्छ। म आफैं पकाएर खान सक्छु। सुरक्षाकर्मीहरूलाई पनि मन्त्रालयबाहिर मेरो पछाडि नआउन भनेको छु।”
उनले मन्त्रालयको सवारीसाधन केवल आवश्यक कार्यालय प्रयोजनका लागि मात्र प्रयोग गर्ने बताएका छन्।
यस्तै, समितिहरु गठन गर्दा औपचारिकतामा मात्र सीमित नराख्नुपर्नेमा उनले जोड दिए। “नाम मात्रको समिति बनाउन हुँदैन। काम सानो भए पनि ठोस परिणाम आउनुपर्छ। आर्थिक स्रोत खोज्न सक्नुपर्छ, खाली बैठक बस्ने र रोकिएको कामलाई पैसाको कारण देखाउने प्रवृत्ति अन्त्य गर्नुपर्छ,” मन्त्री पुनले भने।
शिक्षा ऐनबारे आफूलाई जानकारी नभएको स्वीकार गर्दै उनले विज्ञहरूको सुझावमा भरोसा गर्ने बताएका छन्। “म विज्ञ होइन। विज्ञहरूको टोली बनाएर सुझावअनुसार अघि बढ्छु। सबैको विचारलाई इमान्दारिपूर्वक समेटेर मात्र नीतिगत काम गर्नुपर्छ,” उनले बताए।
विज्ञान मन्त्रालयले अघिल्ला दिनमा खासै काम गर्न नसकेको उल्लेख गर्दै पुनले आगामी ६ महिनाभित्र ठोस काम देखाउने प्रतिबद्धता पनि व्यक्त गरे।