नेभिगेशन
राजनीति

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रपति भवन शीतल निवासमा आज (सोमबार) आयोजित विशेष कार्यक्रममा नव नियुक्त चार मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले शपथ दिलाउनुभएको सो कार्यक्रममा अनिलकुमार सिह्ना, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेलले मन्त्री पदको जिम्मेवारीका लागि शपथ लिएका हुन्। आइतबार सिफारिसमा परेकी डा. संगीता मिश्राको नाम भने अन्तिम क्षणमा हटाइएको थियो।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार साँझ उनीहरूलाई मन्त्रीमा नियुक्त गर्नुभएको हो।

जिम्मेवारीअनुसार सिह्नाले उद्योग, वाणिज्य, आपूर्ति, कानुन, न्याय तथा भूमिसुधारसँगै सहकारी तथा गरिबी निवारण मन्त्रालयको नेतृत्व गर्नेछन्। महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, मदनप्रसाद परियारलाई कृषि, र जगदीश खरेललाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ।

सोमबार दिउँसोको समारोहमा सभामुख, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, उपराष्ट्रपति लगायतका उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्