नेभिगेशन
राजनीति

जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिने : मन्त्री घिसिङ

काठमाडौं।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जीर्ण बनेका आयोजना कुनै पनि व्यवसायीप्रति पूर्वाग्रहका आधारमा नभई काम नगर्ने व्यवसायीसँग मात्र ठेक्का तोडिने स्पष्ट पारेका छन्।

आइतबार नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिसँग भेटघाट गर्दै मन्त्री घिसिङले वर्षौंदेखि आयोजना अलपत्र पार्ने व्यवसायीलाई कारबाहीको चेतावनी दिए। उनका अनुसार, अनुमानित लागतभन्दा कम मूल्य कबोल गरेर आयोजना लिने तर काम नगर्ने प्रवृत्ति अब सह्य नहुने अवस्था आएको छ।

“बजेट छ, आयोजना तयारी अवस्थामा छ, सबै कुरा छ, तर किन काम हुँदैन ? यस्तो प्रवृत्ति अब सह्य हुँदैन,” मन्त्री घिसिङले भने। उनले विदेशमा नेपाली व्यवसायीहरूले उत्कृष्ट काम देखाए पनि भित्रभित्रै भने असफल हुनु दुःखद रहेको टिप्पणी गरे।

उनले तोकिएको समयसीमा र गुणस्तर मापदण्डअनुसार आयोजना सम्पन्न गर्न व्यवसायीहरुलाई आग्रह गर्दै, निर्माण क्षेत्रमा फैलिएको अनियमितता र भ्रष्टाचार नियन्त्रणलाई सरकारले प्राथमिकता दिने बताए। “सरकारको भ्रष्टाचारविरुद्धको अभियानमा निर्माण व्यवसायीले पनि साथ दिनुपर्छ,” मन्त्री घिसिङले जोड दिए।

सो अवसरमा महासंघका प्रतिनिधिहरूले निर्माण क्षेत्रमा विद्यमान समस्या र चुनौतीबारे मन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए।

Photo-(4)-(1)-1758448849.jpg
Photo-(1)-(5)-1758448849.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्