नेभिगेशन
देश

जनता आवास कार्यक्रमबाट निर्माण गरिएका दुई सय ४८ घर हस्तान्तरण

सुर्खेत।
कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भएका २४८ घर सम्बन्धित लाभग्राहीलाई हस्तान्तरण गरिएको छ।

पूर्वाधार विकास कार्यालयमार्फत जुम्लामा २०८ र हुम्लामा ४० घर निर्माण गरी दलित, विपन्न, लोपोन्मुख तथा सीमान्तकृत समुदायलाई वितरण गरिएको हो।

यो कार्यक्रम आर्थिक वर्ष २०७५/७६ बाट सुरु भएको हो। हालसम्म जुम्लामा २०८ घर बनाइएकोमा १८ घर अझै हस्तान्तरण हुन बाँकी रहेको पूर्वाधार विकास कार्यालयका नायब सुब्बा धर्मराज रावलले जानकारी दिए। हरेक घर करिब तीन लाख ३३ हजार ६ सय रुपैयाँ लागतमा बनेको प्राविधिक हेमन्त न्यौपानेले बताए। घरमा दुई कोठा, कोलिया र शौचालयको सुविधा राखिएको छ।

हुम्लामा एक करोड ६० लाख रुपैयाँको बजेटमा ४० घर तयार गरी गत आर्थिक वर्षमै विपन्न तथा दलित परिवारलाई हस्तान्तरण गरिएको पूर्वाधार विकास कार्यालय हुम्लाका प्रमुख नरेशराज जैशीले बताए। उनका अनुसार, त्यसमध्ये २० घर दलित परिवार र २० घर विपन्न परिवारका लागि बनाइएको हो।

नयाँ घर पाएका जुम्ला गुठीचौर गाउँपालिका–५, देपालगाउँका धनसिंह सार्कीले सरकारले गरेको पहलले घरबारविहीन परिवारलाई ठूलो राहत पुगेको बताए। “सरकारको कार्यक्रम अन्तर्गत नयाँ घरमा बस्न पाउँदा खुशी लागेको छ, गरिब र दलितका लागि सरकार भएको अनुभूति भएको छ,” उनले भने। साथै, अन्य घरबारविहीन परिवारलाई पनि यस्तै व्यवस्था हुनुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्