नेभिगेशन
राजनीति

तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक लगायत जिम्मेवार नेतालाई कारबाही गर्न शान्ति समाजको माग

काठमाडौं।
मानव अधिकार तथा शान्ति समाजले जेन–जी आन्दोलनका क्रममा भएको हत्याकाण्डका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि कानुनी कारबाही गर्न माग गरेको छ। आइतबार ४४औँ अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा जारी विज्ञप्तिमा समाजले दर्जनौं निहत्था नागरिकको ज्यान जाने गरी गरिएको अन्धाधुन्ध गोली प्रहारको जिम्मेवारी उनीहरुले लिनुपर्ने उल्लेख गरेको छ।

समाजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचारविरुद्ध जेन–जीले भदौ २३ र २४ मा आह्वान गरेको प्रदर्शनका क्रममा निहत्था नागरिकमाथि गोली चलाइने कार्यमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायत जिम्मेवार छन्। उनीहरूमाथि तत्काल कानुनी प्रक्रिया अघि बढाउनुपर्छ।”

त्यस्तै, जनधनको ठूलो क्षति भएको भन्दै समाजले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न पनि माग गरेको छ। आन्दोलन सफल भइसकेर तत्कालीन सरकारले आत्मसमर्पण गरेको अवस्थामा समेत भदौ २४ गते सार्वजनिक सम्पत्ति, ऐतिहासिक धरोहर, प्रेस र सर्वसाधारणको निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्नहरुलाई पनि पहिचान गरी दण्डित गर्नुपर्ने समाजको भनाइ छ।

साथै, राज्यको ढुकुटी दोहन गर्दै पूर्वविशिष्टहरुलाई दिइँदै आएको सेवा सुविधा तत्काल कटौती गर्नुपर्ने मागसमेत समाजले गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्