नेभिगेशन
देश

स्रष्टा पदयात्रा नेपालले भन्यो : जेन–जी आन्दोलनको भावनाअनुसार देश अघि बढाउनुपर्छ

‘स्वास्थ्य र सिर्जनाको लागि पदयात्रा’ अभियान सञ्चालन गर्दै आएको स्रष्टा पदयात्रा नेपालले जेन–जी आन्दोलनको भावना अनुसार मुलुकलाई अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याएको छ। जेन–जी आन्दोलन सुरु भएको १३ दिनमा शनिबार माईतीघरमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली व्यक्त गरेपछि माईतीघर मण्डलाबाट भृकुटीमण्डप हुँदै रिपोर्टर्स क्लब नेपालमा पुगेका स्रष्टाहरुले विशेष सभामार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।

सभामा सहभागी लेखक तथा स्रष्टाहरुले देशलाई शान्ति र स्थिरतामा अघि बढाउनुपर्नेमा जोड दिएका थिए। उनीहरुको भनाइमा, भदौ २३ गतेको जेन–जी आन्दोलन सही दिशामा भएको थियो र यसबाट प्राप्त उपलब्धि जोगाउनु आजको प्रमुख दायित्व हो। कार्यक्रममा तीन दर्जनभन्दा बढी सर्जकहरुले आफ्ना सिर्जनाहरु वाचन गर्दै आन्दोलनका उद्देश्यलाई सुरक्षित राख्दै मुलुकलाई परिवर्तनतर्फ अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।

साहित्यिक प्रस्तुतिमा प्रा.डा. खगेन्द्रप्रसाद लुँर्ईटेल, डा. बालचन्द्र मिश्र, डा. शशि थापा पण्डित, डा. यादवी ढकाल, शितल गिरी, गंगाप्रसाद भेटवाल, विमल अर्याललगायतका स्रष्टाहरुले सहभागिता जनाए। उनीहरुको साझा बुझाइ अनुसार मुलुकलाई पुरानै अवस्थामा राख्नु हुँदैन, बरु जेन–जीको लक्ष्यलाई आधार बनाई अगाडि बढाउनुपर्छ।

कार्यक्रमको सञ्चालन स्रष्टा पदयात्रा नेपालका महासचिव गंगाप्रसाद भेटवालले गरेका थिए। संस्थाले यसअघि नै ७७ जिल्लामा भ्रमण गर्दै देशलाई अग्रगमनतर्फ लैजान अपिल गरिरहेको छ। आजको कार्यक्रम संस्थाले निरन्तर सञ्चालन गर्दै आएको मासिक श्रृंखलाको ९८औं संस्करण थियो, जुन हरेक महिनाको पहिलो शनिबार आयोजना गरिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्