जेन–जी आन्दोलनका शहीद परिवार, अभियन्ता तथा युवा प्रतिनिधिहरुले सरकारलाई युवाको बलिदानलाई आत्मसात गरी मुलुकलाई अघि बढाउन आग्रह गरेका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले आन्दोलनको मर्म, भावना र शहीदहरुको योगदानलाई बेवास्ता नगर्न सरकारलाई सुझाव दिएका हुन्।
कार्यक्रममा काठमाडौंमा जेन–जी आन्दोलनकै क्रममा ज्यान गुमाएका असहाव आलम ठकुराईका पिता अमरुद्धिन मियाँ ठकुराईले छोराको सपना पुरा होस् भन्ने चाहना व्यक्त गरे। उनले आफ्नो परिवारका सदस्यलाई स्थायी रोजगारीको व्यवस्था गर्न माग गर्दै आन्दोलनमा भएको दमन र हत्याबारे छानबिन गरिनुपर्ने तथा दोषीहरुलाई कारबाही गर्नुपर्ने धारणा राखे।
सोही अवसरमा काठमाडौंमा सक्रिय कार्यकर्ता माजिद अन्सारीले नयाँ सरकारले संविधान र विधिअनुसार काम गर्नुपर्ने सुझाव दिए। युवाहरुको बलिदान कुनै पनि हालतमा खेर जान नहुने उनको भनाइ थियो।
मोरङबाट आन्दोलनमा संलग्न जम्सेद आलमले जेन–जी युवाहरुको त्यागकै कारण मुलुकमा परिवर्तन सम्भव भएको उल्लेख गरे। उनले आन्दोलन सुरु भएको ३६ घण्टाभित्रै देशमा परिवर्तन आएको दाबी गर्दै त्यसलाई अपहरण गर्न खोजिएको आरोप लगाए। साथै, आन्दोलनमा सबै समुदायको सहभागिता रहेको भन्दै सरकारमा पनि त्यस्तै प्रतिनिधित्व हुनुपर्ने माग गरे।
आलमले अन्तरिम सरकारमा मधेशी, मुस्लिम, थारु, आदिवासी र जनजातिको सहभागिता सुनिश्चित गर्नुपर्ने बताए। साथै, २०४६ सालपछि पदमा रहेका सबै नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने मागसमेत राखे।
कार्यक्रममा पारितोषकुमार साह, मोहम्मद नईन राई लगायतका सहभागीहरुले पनि जेन–जी शहीदहरुको भावना र सपनालाई पूरा गर्न सबैले योगदान दिनुपर्ने धारणा राखेका थिए।
