नेभिगेशन
देश

बजेट अभावमा मुगुको रुपान्तरण कम्युनिटी अस्पताल अलपत्र

दान बहादुर बुढा, मुगु । कर्णाली प्रदेश सरकारले १ करोड २० लाख रुपैयाँ खर्चेर निर्माण गरेको मुगु जिल्लाको सोरु गाउँपालिका–६, सोरुकोटस्थित रुपान्तरण कम्युनिटी अस्पताल बजेट नपुग्दा सञ्चालनमा आउन नसकेको छ। भवन बनेर चार वर्ष बितिसक्दा पनि उपचार सेवा नपाएपछि स्थानीयवासी निराश बनेका छन्।

स्थानीयका अनुसार सामान्य सिटामोलदेखि एक्स–रे जस्ता आधारभूत स्वास्थ्य सेवा लिन समेत जिल्लाबाहिर धाउनुपर्ने बाध्यता अझै कायम छ। आर्थिक वर्ष २०७९/८० मा अस्पतालका लागि दुई वटा भवन, हल, कोठा, शौचालय, सोलार बत्ती र ल्याब उपकरण खरिद गरिएको भए पनि चिकित्सक, स्वास्थ्यकर्मी र औषधि अभावले सेवा सञ्चालन हुन सकेको छैन। अस्पतालका व्यवस्थापक गंगराज शाहीका अनुसार हाल बनेका भवन जिर्ण बन्दै गएका छन् भने वरिपरि झाडीले ढाक्न थालेका छन्।

अस्पताल सञ्चालनमा आउने अपेक्षामा स्थानीयले ६ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको जग्गा चन्दा दिएका थिए। तर सेवा नचलेपछि उनीहरू निराश छन्। जग्गादाता पुन्य रोकायले भने, “अस्पताल बन्ने भएपछि धेरै आशा गरेका थियौँ, अहिले अलपत्र परेको देख्दा दुःख लाग्छ।”

त्यस्तै, स्थानीय बासिन्दा राजेन्द्रबहादुर शाहीतेजबहादुर मल्लले तत्काल अस्पताल सञ्चालनमा ल्याउन माग गरेका छन्। उनीहरूले राज्यको करोडौं लगानी खेर गइरहेको भन्दै संघ, प्रदेश र स्थानीय तहले सहकार्य गरेर थप बजेट उपलब्ध गराई स्वास्थ्य सेवा सुरु गर्नुपर्नेमा जोड दिएका छन्।

Photo-(5)-(2)-1758371881.jpg
Photo-(2)-(1)-1758371875.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्