नेभिगेशन
राजनीति

कम्युनिस्ट नेताहरुले भने– परम्परागत शैलीले देश बन्दैन

काठमाडौं । कम्युनिस्ट नेताहरूले अब परम्परागत शैलीबाट न त क्रान्ति सम्भव हुने न त देशलाई निकास दिन सकिने बताएका छन्। शनिबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरूले नयाँ सोच र साझा एजेण्डा लिएर अघि बढ्नुपर्ने धारणा राखे।

‘क्रान्तिकारी कम्युनिस्ट एकता : आजको राष्ट्रिय आवश्यकता’ शीर्षकमा नेकपाले संवाद डबलीमा आयोजना गरेको कार्यक्रममा नेताहरूले जेनेजी विद्रोहले सिकाएको पाठलाई आत्मसात् गर्दै नयाँ रणनीति आवश्यक भएको बताएका थिए।

नेपाल कम्युनिस्ट पार्टीका संयोजक लोकनारायण सुवेदीले अब क्रान्तिकारी कम्युनिस्टहरूले परम्परागत शैली छाडेर नयाँ ढाँचा अपनाउनुपर्ने बताए। उनले जनताले कम्युनिस्टबीच एकता देख्न चाहेको र त्यसका लागि साझा एजेण्डा बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका सदस्य रामसिंह श्रीसले क्रान्तिकारीबीच एकता जरुरी भए पनि साझा कार्यक्रमको कमीले बाधा पुर्‍याइरहेको बताए। उनका अनुसार कहिले भावना मात्रले एकता हुने, कहिले साझा कार्यक्रम हुँदाहुँदै पनि एकता नहुनुले आन्दोलन कमजोर भएको छ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका सदस्य जाग्रित रायमाझीले नेताहरूको व्यक्तिगत स्वार्थकै कारण एकता रोकिएको बताए। उनले ओलीको अहंकार र प्रचण्डको घमण्डले क्रान्तिकारी कम्युनिस्टहरू थप कमजोर भएको दाबी गर्दै, विश्वव्यापी पुँजीवादी भूमण्डलीकरणका चुनौतीबीच विज्ञान र प्रविधिलाई उत्पादनसँग जोडेर मात्र देश परिवर्तन सम्भव हुने धारणा राखे।

वरिष्ठ नेता नारायणप्रसाद शर्माले कम्युनिस्टबीचको एकतामा नीतिभन्दा नेतृत्व प्रधानता बाधक बनेको बताए। नेकपा मशालका प्रवक्ता रामप्रकाश पुरीले पनि वर्तमान परिस्थितिमा एकता अपरिहार्य भएको जोड दिए।

यसैगरी, माक्र्सवादी एकता समाजका संयोजक श्रीकान्त पण्डित, नेकपा (बहुमत) का सदस्य कृष्ण धमला, मार्क्सवादी महासचिव युवराज कफ्ले, नेकपा सदस्य इन्दिरा अधिकारी, समाजवादी कम्युनिस्ट पार्टीका अशोक सुवेदी, नेकपा नेता शरणविक्रम मल्ल, स्वतन्त्र बाम बुद्धिजीवी भूमिनन्द देवकोटा, डाइलेक्टीकल सोसाइटीका संयोजक विनोद लोहनी, नेकपा सचिवालय सदस्य पुस्कर गौतममहादिप पोखरेललगायतले पनि परम्परागत शैली छाडेर नयाँ ढाँचामा एकता गर्दै क्रान्तिमा जुट्नुपर्ने धारणा व्यक्त गरे।

Loknath-Subedi---1758371167.jpg
Photo-(5)-(1)-1758371166.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्