नेभिगेशन
राजनीति

श्रममन्त्रीको चर्चामा प्रोफेसर रमजान अलि मियाँ

काठमाडौं । वर्तमान सरकारले मन्त्री बनाउन खोजिरहेका व्यक्तित्वहरूमध्ये श्रम मन्त्रालयका लागि मुस्लिम समुदायबाट प्राध्यापक डा. मोहम्मद रमजान अली मियाँको नाम जोडदार रूपमा अघि आएको छ।

कतारमा लामो समयदेखि श्रमिक तथा मानवअधिकारको क्षेत्रमा सक्रिय मियाँले नेपाल–कतार सम्बन्ध सुदृढ बनाउन उल्लेखनीय योगदान दिएका छन्। लेखक, अनुवादक, समाजसेवी र कानुनी परामर्शदातासमेत रहेका उनी राष्ट्रिय मानव अधिकार समिति कतारसँग आवद्ध छन्।

काठमाडौंको डाँछीमा जन्मिएका मियाँले अरबी साहित्यमा डबल एमए गरेका छन्। सन् २००७ देखि कतारलाई कर्मथलो बनाएर श्रमिक अधिकारको संरक्षण, उद्धार र सहायतामा निरन्तर सक्रिय रहेका उनी दक्षिण एसियाली श्रमिकबीच पनि विश्वसनीय नाम मानिन्छन्।

अरबी, नेपाली, उर्दू, हिन्दीमा तीन दर्जनभन्दा बढी पुस्तक प्रकाशित गरेका मियाँ फारसी, मलेसियन, पस्तु, अंग्रेजी लगायत भाषामा दक्ष छन्। श्रम ऐन तथा श्रमिक अधिकारसम्बन्धी अनुसन्धानकै कारण उनी कतारमा सम्मानित व्यक्तित्व मानिन्छन्। उनलाई कतार सरकारले दर्जनौँ पटक सम्मान गरिसकेको छ।

२०७२ को भूकम्पताका उनले आधा घण्टाको टेलिभिजन अपिलमार्फत ३२ मिलियन कतारी रियाल संकलन गरी नेपाल पठाएका थिए। कोरोना महामारीका बेला कतार सरकारमार्फत ठूलो परिमाणमा मेडिकल सामग्री सहयोग ल्याउन उनले भूमिका खेले। साथै, कतार च्यारिटी र कतार डेभलपमेन्ट फन्डमार्फत नेपालमा सहयोग पुर्याउन निरन्तर सक्रिय रहँदै आएका छन्। कतारी अमिरलगायत उच्च व्यक्तित्वहरूको नेपाल भ्रमण सम्भव बनाउन पनि उनले पहल गरेका थिए।

हालै भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलाम फाउन्डेसनबाट अरबी साहित्य तथा समाजसेवा सम्मान प्राप्त गर्ने पहिलो नेपाली बनेका मियाँ अन्तर्राष्ट्रिय मानवअधिकार संगठनबाट समेत सम्मानित भएका छन्। कतार सरकारका विभिन्न निकायसँगको बलियो सम्बन्धका कारण आर्थिक कूटनीतिमा पनि सक्षम हुने विश्वास गरिएको छ।

कतार र खाडी मुलुकको राजदूतका बलिया दावेदारसमेत मानिएका मियाँ नेपालमा आफ्नो समुदायको शैक्षिक, सामाजिक र आर्थिक उत्थानमा सक्रिय छन्। अहिले प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा श्रममन्त्रीका लागि उनको नाम चर्चामा आएसँगै बहुआयामिक योगदानले फेरि ध्यान खिचेको छ। वैदेशिक रोजगारीका क्षेत्रमा लामो अनुभव भएकाले उनी मन्त्री बनेमा आमूल परिवर्तन सम्भव हुने विज्ञहरूको भनाइ छ।

स्रोतका अनुसार हाल श्रममन्त्री पदका लागि मियासहित अन्य तीन जनाको नाम सिफारिस भएको छ। मुस्लिम समुदायबाट हालसम्म मन्त्री नपरेकाले मियाको सम्भावना अझ बढेको विश्लेषण गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्