नेभिगेशन
देश

जेनजी आन्दोलन : ‘जहाँ नातेदार पुगेनन्, त्यहाँ पुगिन् आशिका’

काठमाडौं । जेनजी आन्दोलनका कठोर दिनमा, जहाँ सडक र अस्पताल दुबै ठाउँ पीडा र रगतले भरिएका थिए, त्यही समय एक युवती मानवताको आवाज बनेर उदाइन्। उनी हुन्— आशिका तामाङ, जसले निःस्वार्थ सेवाभावका कारण सबैको ध्यान खिचेकी छन्।

अस्पतालका पर्खालहरू घाइतेको करुण चिच्याहटले थर्किरहेका बेला, आफन्त विहीन अचेत शरीरको नजिक पुगेर मलमपट्टी लगाउने, खाना–पानी उपलब्ध गराउने, कपडा फेर्ने, औषधि पुर्‍याउने काममा आशिका अग्रपंक्तिमा देखिइन्। कुनै प्रचार, कुनै राजनीतिक आदेश वा संस्थागत दबाब होइन— केवल मानवताको भावनाले उनलाई त्यहाँ पुर्‍याएको थियो।

आन्दोलन अघि नै सामाजिक सेवामा सक्रिय तामाङ अहिले घाइते र मृतकका परिवारलाई आर्थिक सहयोग समेत गरिरहेकी छन्। तेल, चामलदेखि उपचार खर्चसम्म उपलब्ध गराउँदै, उनले बझाङका दिवंगत सुभाष बोहराको परिवारलाई मात्र १ लाख रुपैयाँभन्दा बढी सहयोग गरिसकेकी छन्।

अस्पतालका भीडभाडबीच चिकित्सक र नर्स थाकेका अवस्थामा आशिकाले अभिभावकको भूमिका निभाइन्। कोही बेहोस अवस्थामा थिए, कसैको हात वा छातीमा गोली लागेको थियो, कतिपय अझैसम्म आफन्तसँग सम्पर्कमै छैनन्। ती सबैका लागि उनी आफन्तझैँ बनिन् र सन्देश घरसम्म पुर्‍याउन सहयोग गरिन्।

उनको सेवा कुनै पद वा औपचारिक जिम्मेवारीले होइन, नितान्त मानवीय भावनाले निर्देशित थियो। वीर अस्पतालदेखि टिचिङ, सिभिल र काठमाडौंका अन्य अस्पतालसम्म दिन–रात दौडिरहेको उनको समर्पणले समाजलाई देखाइदियो— नेतृत्व भनेको कुर्सी वा भाषण होइन, कर्म र सेवा हो।

सामाजिक सञ्जालमा कतिपयले सुरुमा उनको प्रयासलाई प्रश्न गरे, तर आज त्यही आशिकामाथि गर्व गर्नेहरु बढेका छन्। कतिपयको दृष्टिमा उनी “जनताको दोस्रो भगवान” झैँ बनेकी छन्।

उनको सहयोग केवल आर्थिक मात्र नभई भावनात्मक सहारा पनि हो। घाइतेका लागि उनी कहिले आमा, कहिले दिदी, कहिले छोरी बनेकी छन्। पीडामा छट्पटाइरहेका बिरामीका लागि उनी उपचारकै ‘सिटामोल’ बनेर उभिएकी छन्।

आशिका तामाङ आज केवल एक सामाजिक अभियन्ता होइनन्— उनी एक प्रेरणादायी पात्र हुन्। जसले समाजलाई सम्झाइन्, मानवीयता कुनै संगठन वा नीति–नियममा सीमित हुँदैन, त्यो त दिलको कुरा हो। जब एक मानिस अर्कोको पीडामा साथ दिन्छ, त्यहीँबाट परिवर्तनको बीउ रोपिन्छ।

देश आन्दोलन र अशान्तिमा हुँदा, उनले बिना तामझाम, बिना प्रचार, केवल मानवताको निस्वार्थ आवाजमा उभिएर सेवा गरेकी छन्। यिनै आशिकाजस्ता पात्रका कारण समाज अझै आशावादी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्