जेन–जी अभियन्ताहरुले पुनर्निर्माण प्रक्रियालाई श्रम संस्कृतिसँग जोड्नुपर्नेमा जोड दिएका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा जेन–जी अभियानका अभियन्ता केपी खनालले आफ्नो पुस्ता शान्तिपूर्ण पुनर्निर्माणका लागि प्रतिवद्ध रहेको बताएका छन्।
खनालका अनुसार जेन–जीको मूल चरित्र विध्वंसकारी नभई सकारात्मक रूपान्तरणतर्फ उन्मुख छ। उनले भने, “हामी पुनर्निर्माणलाई श्रम संस्कृतितर्फ मोड्न आएको हौं। आगामी दिनमा जेन–जीको अगुवाइमा राज्यका विभिन्न पक्षहरुसँग सहकार्य गर्दै अघि बढ्नेछौं।”
उनले भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका लागि जेन–जी आन्दोलन भएको र त्यसकै परिणामस्वरूप अन्तरिम सरकार बनेको पनि स्मरण गरे। आन्दोलन देशको हित, खबरदारी र सुधारका लागि भएको उनले स्पष्ट पार्दै, त्यस क्रममा घटेका दुर्भाग्यपूर्ण घटनाप्रति दुःख प्रकट गरे।
खनालले अबको लक्ष्य समाजलाई विकासको मार्गमा अघि बढाउने रहेको उल्लेख गर्दै, सम्पूर्ण जेन–जी पुस्तालाई श्रम संस्कृतिको अभियानमा जुट्न आग्रह गरे। उनले भने, “विभिन्न सरकारी संरचनाहरु भत्किएका छन्। अब सबै जेन–जी पुस्ताले एकजुट भएर श्रम संस्कृतिको अभियान अघि बढाउनुपर्छ। हामी उदाहरण प्रस्तुत गरौं।”
यसै अवसरमा अर्का अभियन्ता बब्लु गुप्ताले युवाहरुले अब आफ्नै देशमै रोजगारी पाउनुपर्ने आवश्यकता औंल्याए। उनले देशले नयाँ स्वरूप लिनुपर्ने र जेन–जीको मुख्य एजेण्डा भ्रष्टाचारविरोधी रहेको बताए। गुप्ताले भने, “भ्रष्टाचारविरुद्धको मुद्दा हामीले उठाएका थियौं। युवाहरु सबै एकजुट भएर लागे मात्र यसलाई रोकिन सकिन्छ।”