काठमाडौं, २७ भदौ — जेन–जी आन्दोलनका क्रममा मृतक र घाइते भएका व्यक्तिहरूका परिवारले संघर्ष समिति गठन गरेका छन्। काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत समितिको घोषणा गर्दै उनीहरूले राज्यसँग आफ्ना माग सार्वजनिक गरेका हुन्।
समितिले आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गर्न, राजकीय सम्मानसहित अन्त्येष्टि गर्न र परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ। साथै, मृतकको शवलाई राजकीय सम्मानसहित चक्रपथ परिक्रमा गराएर गृहजिल्लासम्म नेपाली सेनाको हेलिकोप्टरमार्फत पुर्याउनुपर्ने र त्यहाँ शवयात्रा गरिनुपर्ने पनि उनीहरूको माग छ। मृतकका आमाबुबा, पत्नी र बालबालिकालाई उचित लालनपोषण, शिक्षा तथा रोजगारीको व्यवस्था हुनुपर्ने समितिको जोड छ।
घाइतेहरूलाई निःशुल्क उपचार र रोजगारी सुनिश्चित गर्नुपर्ने माग समितिले गरेको छ। पूर्ण रूपमा अशक्त भएका घाइतेलाई क्षतिपूर्ति र आवश्यक सेवा–सुविधा उपलब्ध गराउनुपर्ने पनि उनीहरूको माग छ। आन्दोलनका क्रममा गोली चलाउन आदेश दिने प्रधानमन्त्री, गृहमन्त्री, प्रमुख जिल्ला अधिकारीलगायत जिम्मेवार पदाधिकारीलाई तत्काल निलम्बन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने उनीहरूको अडान छ।
यस्तै, नेपाली सेना र राष्ट्रपतिसँग भइरहेको वार्तामा मृतक परिवारलाई पनि सहभागी गराउनुपर्ने माग समितिले राखेको छ। पत्रकार सम्मेलनमा मृतक परिवारका एक सदस्यले भने, “जेन–जी आन्दोलनका असली लिडर भनेका गोली खाएर ज्यान गुमाएका हुन्। ती बाहेक जेन–जीको नेतृत्व मृतक परिवारकै हातमा छ।”


