कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत अर्जुनी क्षेत्रमा राजमार्गमै दुई मजदुर लुटपाटमा परेका छन्।
कालिकोटको पलाता–७ का कलमबहादुर धामी र नैनबहादुर धामीलाई सेतो स्कुटरमा आएका तीन जना व्यक्तिले खुकुरी देखाएर मोबाइल फोन र १४ हजार भारतीय रुपैयाँ खोसेको पीडितले बताएका छन्।
कलमबहादुरका अनुसार, महेन्द्रनगरबाट घर फर्कँदै गर्दा सवारी साधन नपाएपछि उनीहरू पैदलै हिँडिरहेका थिए। सोही क्रममा स्कुटरमा आएका व्यक्तिहरूले खुकुरी देखाउँदै लुटपाट गरेको उनले बताएका छन्। पाँच जना साथीहरूमध्ये दुई जनामात्रै घटनामा परेका थिए।
भारतमा मजदुरीका लागि गएका उनीहरूले काम नपाएपछि घर फर्कने क्रममा बीच बाटोमै यस्तो घटना भोग्नुपरेको हो।
घटनाबारे इलाका प्रहरी कार्यालय झलारीलाई जानकारी दिइएको छ। प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार पीडितको बयानका आधारमा घटनामा संलग्न लुटेराको खोजी कार्य अगाडि बढाइएको छ।