नेभिगेशन
देश

वीरगन्जमा मन्त्री अजय चौधरीको निवासमा तोडफोड

वीरगन्ज । देशभर फैलिरहेको जेनजी आन्दोलनको प्रभाव वीरगन्जमा पनि देखिएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र नेपाली कांग्रेसका नेता अजय कुमार चौधरीको वीरगन्जस्थित निवासमा सोमबार राति तोडफोड भएको छ ।

स्थानीय स्रोतका अनुसार प्रदर्शनकारीहरूको एक समूहले मन्त्रीको घर अगाडि नाराबाजी गर्दै ढुंगा–ईँटा प्रहार गरेका थिए । सो क्रममा घरको गेट र झ्यालमा क्षति पुगेको बताइएको छ । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

यसअघि प्रहरीको गोली लागेर १९ जना युवाको ज्यान गएपछि आन्दोलन देशभर उग्र बन्दै गएको हो । सरकारले मौनता अपनाएको र दमनकारी शैली अपनाएको आरोप लगाउँदै युवा पुस्ता सडकमा उत्रिएका छन् ।

राजनीतिक नेतृत्व र सत्तारूढ दलका शीर्ष नेताहरूको निवास तथा कार्यालयहरू प्रदर्शनकारीको निशानामा परिरहेका छन् । केही दिनअघि वीरगन्जकै एमाले कार्यालयमा आगजनी गरिएको थियो ।

हाल वीरगन्जमा सुरक्षा अवस्था तनावग्रस्त बनेको छ । स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउँदै प्रमुख नेताहरूको सुरक्षामा थप बल प्रयोग गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्