नेभिगेशन
देश

मकवानपुर आगलागी, करिब दुई करोडको धनमाल नष्ट

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–५, गरगरेमा शुक्रबार बिहान भएको भीषण आगलागीमा करिब दुई करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालका अनुसार स्थानीय लिलाराम जिम्बाको दुईतले पक्की घरभित्र सञ्चालनमा रहेको किराना पसलमा बिहान करिब ७:४५ बजे आगो लागेको थियो।

पसल सञ्चालक गम्भीर घाइते
आगलागीमा पसल सञ्चालक ४५ वर्षीय लिलाराम जिम्बा गम्भीर घाइते भएका छन्। आगो निभाउने क्रममा उनका हात र खुट्टा जलेको प्रहरीले जनाएको छ। प्रारम्भिक उपचारपछि उनलाई हेटौँडाबाट चुरेहिल हुँदै कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ। जिम्बाको करिब ४० प्रतिशत शरीर जलेको र अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ।

आगो लाग्ने कारण
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घर अगाडि बालिएको दियोबाट पेट्रोलमा आगो सल्किँदा दुर्घटना भएको हो। पेट्रोलको ड्रमबाट तेल खन्याउने क्रममा ड्रम पल्टिँदा आगो तीव्र गतिमा फैलिएको बुझिएको छ।

दुई घण्टापछि नियन्त्रण
दमकल, प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा ल्याइए पनि जिम्बाको दुईतले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

आगलागीमा करिब १५ लाख रुपैयाँ नगद, ३० थान ग्यास सिलिन्डर, पेट्रोल, डिजेल, खाद्यान्न, लत्ताकपडा, फर्निचरलगायत पसलका सामान जलेका छन्। साथै, जिम्बाको बा.प्र.०३–००६ प १८९७ नम्बरको पल्सर मोटरसाइकल र पसलमा सामान किन्न आएका स्थानीय नारायणबहादुर स्याङ्तानको ना ४९ प १३ नम्बरको पल्सर मोटरसाइकल पनि आगोमा जलेको प्रहरीले जनाएको छ।

सम्पूर्ण क्षतिको मूल्याङ्कन गर्दा करिब दुई करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको छ।

Photo-(1)-(5)-1757124122.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्