नेभिगेशन
देश

नेपाल टेलिकम र एनसेलमार्फत दर्ता नभएका सामाजिक सञ्जाल बन्द

काठमाडौं। सरकारले दर्ता नगरिएका सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाउने निर्णय गरेसँगै नेपाल टेलिकम र एनसेलले ती प्लेटफर्महरू बन्द गरेका छन्।

नेपाल टेलिकमले बिहीबार सार्वजनिक गरेको सूचनामा नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार नेपालमा सूचीकरण नगरेका सामाजिक सञ्जाललाई अस्थायी रूपमा निष्क्रिय बनाइएको उल्लेख छ। कम्पनीले सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषदको निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय बैठकको निर्णयका आधारमा यो कदम उठाइएको स्पष्ट पारेको छ।

टेलिकमले बन्द गरिएका सञ्जालहरू पुनः सञ्चालनमा ल्याउने विषयमा आगामी दिनमा प्राधिकरणबाट प्राप्त हुने निर्देशनलाई आधार मानिने जनाएको छ।

यसैबीच, एनसेलले पनि विज्ञप्ति जारी गर्दै आफ्नो मोबाइल डाटाबाट सरकारले प्रतिबन्ध लगाएका सामाजिक सञ्जाल प्रयोग गर्न नसकिने जानकारी दिएको छ। कम्पनीले यसबाट ग्राहकलाई पर्न सक्ने असुविधाप्रति क्षमा माग्दै सरकारको निर्देशन कार्यान्वयन गरिएको बताएको छ।

सरकारले हालसम्म सूचीकरण नभएका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालमा सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्