नेभिगेशन
देश

कोशी प्रदेश प्रहरीमा वार्षिक कार्यसम्पादन सम्झौता सम्पन्न

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक कार्यसम्पादन सम्झौता औपचारिक रूपमा सम्पन्न गरिएको छ।

सम्झौतामा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापा र कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले हस्ताक्षर गरेका हुन्। यस सम्झौतामा चालु वर्षका प्रमुख लक्ष्य, कार्ययोजना तथा सेवा प्रवाह सुधारका विषयहरू समेटिएका छन्।

डीआईजी कार्कीको नेतृत्वमा प्रदेशका १४ जिल्ला प्रहरी प्रमुख, प्रदेश प्रहरी तालिम केन्द्र, सशस्त्र प्रहरी गण रानी, नेपाल प्रहरी प्रदेश अस्पताल इनरुवा, विपद् व्यवस्थापन गुल्म चन्द्रगढी तथा नेपाल पुलिस स्कुल धरानका प्रमुखहरूले पनि सम्झौतामा सहमति जनाउँदै हस्ताक्षर गरेका छन्।

समारोहमा सहभागी प्रहरी प्रमुखहरूले आफ्नो क्षेत्रका वार्षिक लक्ष्य तय गरी समयमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै प्रहरी सेवालाई अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन अठोट व्यक्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी कार्कीले कार्यसम्पादन सम्झौता कागजी औपचारिकतामात्र नभई, प्रहरी सेवामा चुस्तदुरुस्ती ल्याउने र नागरिकले प्रत्यक्ष अनुभूत गर्ने सुधारको माध्यम भएको बताए। उनले योजनाबद्ध कार्यान्वयनमार्फत सम्झौता सफल हुने विश्वास समेत व्यक्त गरे।

सम्झौताअनुसार जिल्ला प्रहरी कार्यालय र सम्बन्धित निकायहरूले त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक रूपमा आफ्नो प्रगति प्रतिवेदन प्रदेश प्रहरी कार्यालयमा पेश गर्ने व्यवस्था मिलाइएको छ।

हस्ताक्षर कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक पोखरेलसहित कोशी प्रदेश प्रहरी कार्यालयका अन्य अधिकारीहरूको पनि सहभागिता थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्