नेभिगेशन
देश

कांग्रेसले भन्योः सरकारको गलत कामको विरोध गर्दा पार्टीमाथि षड्यन्त्र र आक्रमण भयो

काठमाडौँ । नेपाली कांग्रेसले सरकारका गलत कामको विरोध गर्दा पार्टीमाथि षड्यन्त्र र आक्रमण भएको आरोप लगाएको छ । कांग्रेसको आकस्मिक बैठकपछि महामन्त्री प्रदीप पौडेलले जारी गरेको विज्ञप्तिमा पार्टीले आफ्नो ८० वर्षे इतिहासमा पटक–पटक यस्ता चुनौतीको सामना गरेको उल्लेख गरिएको छ ।

कांग्रेसले सरकार पूर्णतः स्वेच्छाचारी र निरङ्कुश बन्दै गएको आरोप लगाएको छ । सरकारका असंवैधानिक कदमविरुद्ध आवाज उठाउने नागरिक र प्रतिपक्षलाई बोल्न नदिने प्रयास भइरहेको कांग्रेसको ठहर छ ।

“पछिल्ला दिनमा सरकार पूर्णतः स्वेच्छाचारी र निरङ्कुश बन्दै असंवैधानिक कदमविरुद्ध उठ्ने नागरिक र प्रतिपक्षका आवाज थुन्न उद्यत छ । अपारदर्शी निर्णय, पत्रकारमाथि धरपकड र संवैधानिक निकायमाथिको नियन्त्रणले सरकारको अलोकतान्त्रिक चरित्र उजागर गरेको छ,” विज्ञप्तिमा भनिएको छ, “सरकारका गलत कामको विरोध गर्दा कांग्रेसमाथि षड्यन्त्र र आक्रमण हुनु नयाँ होइन; ८० वर्षे इतिहासमा हामीले यस्ता चुनौती पटक–पटक सामना गरेका छौँ ।”

कांग्रेसले पार्टीलाई बदनाम गर्ने सुनियोजित प्रयास भइरहेको पनि जनाएको छ । प्रेस नियन्त्रण र राज्यका निकायमाथिको हस्तक्षेपविरुद्ध राजनीतिक तथा कानुनी दुवै ढङ्गले सशक्त रूपमा उभिने विज्ञप्तिमा उल्लेख छ ।

“पार्टीलाई बदनाम गर्ने सुनियोजित प्रयास, प्रेस नियन्त्रण र राज्यका निकायमाथिको हस्तक्षेपविरुद्ध कांग्रेस राजनीतिक र कानुनी दुवै ढङ्गले सशक्त रूपमा उभिनेछ । पार्टीलाई ‘डिफेम’ गर्ने बदनियतका साथ आएका षड्यन्त्रलाई नेपाली कांग्रेसले राजनीतिक र कानुनी दुवै ढङ्गले सामना गर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्