नेभिगेशन
देश

देशभर वर्षाः पूर्वदेखि पश्चिमसम्म बाढी–पहिरो, सडक–उडान ठप्प

काठमाडौं । निरन्तर वर्षासँगै आएको बाढी–पहिरोले देशभर जनजीवन प्रभावित भएको छ । पूर्वको पाँचथरदेखि सुदूरपश्चिमको डोटीसम्म सडक अवरुद्ध, नदीमा उच्च बहाव, राजमार्ग क्षतिग्रस्त र हवाई उडान प्रभावित बनेका छन् । पछिल्लो अवस्थाले देशका दर्जनौं जिल्लामा विपद् जोखिम उच्च रहेको देखाएको छ ।

पाँचथर, इलाम र ताप्लेजुङ क्षेत्रमा खोलानाला बढेसँगै बाढीको जोखिम बढेको छ । स्थानीय प्रशासनले तटीय बस्तीलाई सतर्क रहन आग्रह गरेको छ । झापा, मोरङ र सुनसरीतर्फ तराई क्षेत्रमा पानी जम्ने र नदीमा बहाव बढ्ने अवस्था देखिएको छ। उदयपुरमा पनि वर्षासँगै खोलानालामा बहाव बढ्दा जोखिम बढेको छ । पूर्वी पहाडी जिल्लाबाट तराई जोड्ने सडकहरू ठाउँ–ठाउँमा पहिरोका कारण प्रभावित बनेका छन् ।

ओखलढुंगाको सिद्धिचरण राजमार्गअन्तर्गत हर्कपुरस्थित भण्डारे खोलामा आएको बाढी र गेग्रानका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यसले सोलुखुम्बु र खोटाङ जाने सवारी रोकिएका छन्, सडक खुलाउने प्रयास जारी छ ।

काठमाडौं उपत्यकामा नदीहरूमा जलसतह बढेको छ। हनुमन्ते नदीमा सतर्कता तह पार गरेपछि उच्च सतर्कता अपनाउन भनिएको छ । नदी किनार क्षेत्रमा आवतजावतमा रोक लगाइएको छ । मौसम प्रतिकूल हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा केही अन्तर्राष्ट्रिय उडान समेत प्रभावित भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्