काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाइ कारवाही गर्ने भएको छ। शिक्षक राजनीतिक गतिविधिमा लागेको विषय सामाजिक सन्जालबाट बाहिरिएपछि शिक्षामन्त्री सस्मित पोखरेलले कुनैपनि राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कारवाही गर्न निर्देशन दिएका हुन्। मन्त्री पोखरेलले देशभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिलाइ निगरानी गर्न पनि निर्देशन दिएका छन्।
यसैबिच शिक्षा विकास तथा समन्वय एकाइ, बैतडीले जिल्लाका विद्यालयमा कार्यरत शिक्षकहरूको राजनीतिक दलका कार्यक्रममा सहभागिताबारे निगरानी गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ। एकाइले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार तथा सूचनाअनुसार केही विद्यालयका शिक्षकहरू विभिन्न राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइएको जनाएको छ। पत्रमार्फत स्थानीय तहअन्तर्गतका विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका विभिन्न कार्यक्रममा सहभागी भएरनभएको सम्बन्धमा गहन निगरानी गर्न अनुरोध गरिएको छ।
त्यसैगरी, प्रचलित शिक्षा ऐन तथा नियमावलीले निर्धारण गरेको शिक्षक आचरण र मापदण्ड तथा नेपाल सरकारका पछिल्ला निर्देशनविपरीत कुनै शिक्षकका गतिविधि पाइएमा प्रचलित कानूनबमोजिम आवश्यक कारबाही गर्नसमेत एकाइले स्थानीय तहहरूलाई आग्रह गरेको छ। शिक्षा विकास तथा समन्वय एकाइ, बैतडीका एकाइ प्रमुख दशरथ दत्त भट्टद्वारा जारी पत्रमा उक्त निर्देशन उल्लेख गरिएको छ। पत्रको बोधार्थ शिक्षा तथा खेलकुद मन्त्रालयलाई समेत दिइएको छ।