नेभिगेशन
देश

जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही बनाउन रास्वपाले ‘राइट टु रिकल’ अवधारणा अघि बढाउँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही र उत्तरदायी बनाउने संयन्त्रका रूपमा राइट टु रिकल अवधारणालाई अघि बढाउने भएको छ।

रास्वपाको ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण समितिको पहिलो बैठक महामन्त्री तथा समिति संयोजक विपिन कुमार आचार्यको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो।

बैठकमा ‘राइट टु रिकल’ अवधारणामार्फत निर्वाचित जनप्रतिनिधिलाई मतदाताप्रति थप उत्तरदायी बनाउने तथा लोकतान्त्रिक निर्वाचन प्रणालीप्रति मतदाताको विश्वास अभिवृद्धि गर्ने विषयमा छलफल भएको रास्वपाले जनाएको छ। समितिले यससम्बन्धी बहसलाई थप विस्तार गर्दै आवश्यक दस्तावेज निर्माण गर्ने निर्णय गरेको छ। बैठकले मनिष खनाललाई समिति सचिवको जिम्मेवारीसमेत दिएको छ।

त्यस्तै, समितिअन्तर्गत चार विषयगत उपसमिति गठन गरिएको छ। जसअनुसार संवैधानिक तथा सम्बन्धित कानुनी प्रावधान अध्ययन समितिमा सुलभ खरेल र गजला शमिम मिकरानी, अन्तर्राष्ट्रिय प्रचलित अभ्यास अध्ययन समितिमा अनुष्का श्रेष्ठ, सरोकारवालासँगको छलफल समन्वय समितिमा समीक्षा बास्कोटा र करिस्मा कठरिया तथा सञ्चार तथा मिडिया समन्वय समितिमा प्रमोद न्यौपानेलाई जिम्मेवारी दिइएको छ।

रास्वपाले ‘राइट टु रिकल’लाई प्राथमिकताका साथ उठाउँदै आएको मुद्दाका रूपमा उल्लेख गर्दै यसको कानुनी तथा अन्तर्राष्ट्रिय अभ्यासबारे अध्ययन गरी दस्तावेज तयार गर्ने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्