काठमाडौँ । परराष्ट्रविद् प्रा. डा. शम्भुराम सिंखडाले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन शाहले नेपालमा गएको भोटेकोशी विपद्लाई सामान्य बाढीका रूपमा नभई ‘हिमालयन सुनामी’का रूपमा स्थापित गराउनुपर्ने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सिंखडाले हालैको भोटेकोशी बाढी र त्यसले सिर्जना गरेको विपद्को गम्भीरतालाई विश्वसमुदायसामु प्रभावकारी रूपमा उठाउन आग्रह गरेका हुन्।
‘विपद्का घटनाले सारा नेपाली पीडामा छन्। यस्तो अवस्थामा संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन शाहको उपस्थिति अत्यन्तै महत्त्वपूर्ण छ,’ सिंखडाले भने, ‘‘उहाँले राष्ट्रसंघमा सम्बोधन गर्दा बाढी शब्दमा सीमित नभई ‘हिमालयन सुनामी’ भन्ने नयाँ शब्दावली स्थापित गराउनुपर्छ। नेपाल ‘महाप्रलयकारी हिमाली सुनामी‘बाट प्रभावित भएको कुरा विश्वले बुझ्ने गरी राख्नुपर्छ।’’
जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम वृद्धि भई प्राकृतिक सन्तुलन खलबलिएको उल्लेख गर्दै बढ्दो जलवायु संकटबारे विश्व समुदायलाई गम्भीर बन्न प्रधानमन्त्री बालेनले ध्यानाकर्षण गराउनुपर्नेमा सिंखडाले जोड दिए। जलवायु परिवर्तनप्रति हेलचेक्य्राइँ गरिए विश्वले झन् ठूलो संकट व्यहोर्नुपर्ने चेतावनी दिँदै उनले जलवायु न्याय र विश्वलाई बचाउने अभियानको नेतृत्व लिन नेपाल तयार रहेको सन्देश प्रधानमन्त्रीले दिनुपर्ने बताए।
‘प्रधानमन्त्री बालेन सिङ्गो नेपालको अनुहार हुन्। नेपालले भोगेको यो अकल्पनीय पीडामा सहयोग गर्नु विश्व मानवजातिकै दायित्व र मानवता हो भन्ने कुरा उहाँले स्पष्टसँग राख्नुपर्छ,’ सिंखडाले भने।
साथै, प्रधानमन्त्रीले भ्रमण पूरा गरी स्वदेश फर्किएपछि राष्ट्रसंघमा उठाइएका विषयबारे भोटेकोशी विपद्पीडित नागरिकलाई सम्बोधन गर्दै आश्वस्त पार्न पनि उनले सुझाव दिए। भावी दिनमा जलवायुजन्य विपद् आउन नदिने र आइहालेमा क्षति न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा नै प्रधानमन्त्रीको मुख्य ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह सेप्टेम्बर २२ मा अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। उनले सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघीय महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नेछन्।
न्युयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।