काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको उपस्थितिमा कृषि कर्जाको वर्तमान अवस्था, सहुलियतपूर्ण कर्जा प्रवाहमा देखापरेका व्यावहारिक समस्या तथा चुनौती र तिनको समाधानका सम्भावित उपायहरूबारे सरोकारवालाहरूबीच समीक्षा बैठक सम्पन्न भएको छ।
बैठकमा मुलुकभर कृषि कर्जाको पहुँच र प्रभावकारिताको विस्तृत समीक्षा गरिनुका साथै सहुलियतपूर्ण कर्जा प्रवाहका क्रममा किसानहरूले व्यहोर्नुपरेका प्रक्रियागत जटिलता तथा वास्तविक लक्षित वर्गसम्म कर्जा पुर्याउन देखा परेका बाधा-अड्चनहरूबारे छलफल भएको छ। बैठकमा मन्त्री चौधरीले आगामी दिनमा कृषि कर्जा प्रक्रियालाई थप सरल, सहज र प्रभावकारी बनाई वास्तविक किसानसम्म सहुलियत पुर्याउन आवश्यक नीतिगत तथा व्यावहारिक सुधारका कदमहरू अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
उनले वास्तविक किसानहरूलाई सहज रूपमा कर्जाको पहुँच पुर्याई कृषि क्षेत्रको व्यवसायीकरण र रूपान्तरण गर्न मन्त्रालय निरन्तर प्रतिबद्ध रहेको बताईन्।