काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सर्वसाधारण नागरिकको ढाड सेक्ने गरी सरकारले लगाएको करका विरुद्ध देशभरि अभियान सञ्चालन गर्ने बताएका छन् ।
आइतबार मन्थलीमा आयोजित हस्ताक्षर संकलन अभियान तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले सरकारको सो कार्यको विरुद्ध देशभर स्थानीय तहसम्म हस्ताक्षर अभियान सञ्चालन गरिने बताए ।
एक महिनासम्म हस्ताक्षर संकलन गरेर सरकारलाई बुझाउने योजना रहेको घिसिङले सुनाए । ‘उज्यालो नेपाल पार्टीले जनदबाब सिर्जना गर्न भदौ १ गतेबाट देशव्यापी रूपमा जनताको हस्ताक्षर संकलन अभियान सुरु गरेका छौँ,’ उनले भने ।
सरकारले विद्युतमा भ्याट लगाउने, राइड सेयरिङमा कर लगाउने जस्ता काम गरेर सर्वसाधारण नागरिकलाई मारमा पारेको उनको भनाइ छ ।
विद्युत् महसुल घटाएर विद्युतको प्रयोग गर्न नागरिकलाई उत्प्रेरित गर्नुपर्ने बेलामा उल्टै कर लगाएर निरुत्साहित गरेको उनको धारणा छ । सकारले ल्याएको यो नीति गलत भएको उनले बताए ।