नेभिगेशन
देश

रिपोर्टर्स क्लबले बुझायो तिर्न बाँकी रहेको रकम, चाडै पुनः सञ्चालनमा आउने ऋषि धमलाको उद्घोष

काठमाडौँ । नेपाली सञ्चार जगतका चर्चित पत्रकार ऋषि धमलाले करिब साढे दुई महिनादेखि बन्द रहेको ‘रिपोर्टर्स क्लब नेपाल’ चाँडै पुनः सञ्चालनमा आउने बताएका छन्। मंगलबार काठमाडौँमा एक विशेष पत्रकार सम्मेलन आयोजना गर्दै धमलाले इतिहासको हरेक संकटमा देश र जनताको आवाज बनेको रिपोर्टर्स क्लब बन्द हुँदा आफूलाई रातभर निद्रासमेत नपरेको भावुक अभिव्यक्ति दिए।

5-1782912754.jpg
 

क्लबका अध्यक्ष समेत रहेका धमलाले सम्झौता अनुरुप नै सम्पुर्ण बक्यौदा भाडा समाज कल्याण परिषद्लाई बुझाएको जानकारी दिए । उनले अब रिपोर्टर्स क्लब चाडै पूनः सञ्चालनमा आउने बताए।

‘हामीले राज्यलाई तिर्नुपर्ने सम्पूर्ण रकम समाज कल्याण परिषद्लाई तिरिसकेका छौँ। ऋषि धमला राज्यको नीति, नियम र कानुन मान्न सधैँ प्रतिबद्ध छ,’ उनले दृढताका साथ भने।

क्लब बन्द रहँदा पत्रकारितामा भर्खरै पाइला चाल्दै गरेको नयाँ युवा पुस्ता समाचारको स्रोत नपाएर सबैभन्दा बढी छट्पटिएको दाबी धमलाले गरे। ‘अब त्यो छट्पटाहट अन्त्य भएको छ, समाचारको मुहान पुनः खुला हुँदैछ,’ उनले भने।

3-1782912799.jpg

पत्रकारितामा साढे तीन दशकभन्दा लामो समयदेखि अनवरत क्रियाशील धमलाले चौध वर्षको कलिलो उमेरदेखि नै आफू श्रमजीवी पत्रकार, लोकतन्त्र र विधिको शासनका लागि लड्दै आएको स्मरण गरे। २०५४ साल चैत १७ गते स्थापना भएको रिपोर्टर्स क्लबको ऐतिहासिक पृष्ठभूमिबारे प्रकाश पार्दै धमलाले क्लबको इतिहास नेपाली राजनीतिको जीवन्त दस्तावेज भएको दाबी गरे।

‘क्लबको पहिलो साक्षात्कारका वक्ता नै सन्त नेता एवं पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो,’ धमलाले गौरवका साथ भने, ‘राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा काठमाडौँमा कर्फ्यु लाग्दासमेत क्लबले जोखिम मोलेर साक्षात्कार गराएको इतिहास छ। भर्खरैको जेनजी आन्दोलनको उत्कर्षका बेला पनि क्लबमा बहसहरू रोकिएनन्।’

उनले सो आन्दोलनलाई आफूले खुला हृदयले साथ दिएको र त्यतिबेला आन्दोलनकै मोर्चामा रहेका वर्तमान गृहमन्त्री सुधन गुरुङसमेत साक्षात्कारका लागि क्लबको मञ्चमा आएको स्मरण गरे।

4-1782912754.jpg
 

राष्ट्रिय राजनीतिलाई तरंगित पार्ने कतिपय ठूला निर्णयहरूको साक्षी पनि क्लब नै बनेको धमलाको भनाइ थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले न्युज २४ टिभी र ग्यालेक्सी– फो–के टिभी छाडेर राजनीतिमा होमिएको ऐतिहासिक घोषणा गर्ने थलो पनि रिपोर्टर्स क्लब नै रहेको धमलाले उल्लेख गरे।

क्लब खुलाउन सहजीकरण गरिदिन उनले प्रधानमन्त्री बालेन साह, मन्त्री सीता वादी तथा समाजकल्याण परिषद्का सदस्यहरूलाई अनुराेध गरे। क्लबले यसअघि जस्तै पीडित र बिरामीहरूको उपचारका लागि सहयोगी हातहरूसँग समन्वय गरेर रकम संकलन गर्ने परोपकारी कार्यलाई पनि निरन्तरता दिने उनले बताए।

2-1782912751.jpg
1-1782913008.jpg
तस्बिरः दिनेश चौधरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्