नेभिगेशन
देश

यादेआकाे उच्च प्रदर्शनयुक्त विद्युतीय मोटरसाइकल सार्वजनिक, यस्ता छन् विशेषताहरु

काठमाडौं । विश्वकै अग्रणी विद्युतीय दुईपाङ्ग्रे ब्रान्ड यादेआले आफ्नो बहुप्रतीक्षित किनेस मोटरसाइकल नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । नेपालको आधिकारिक वितरक कुजु नेपाल प्रा.लि. मार्फत सार्वजनिक गरिएको यो मोटरसाइकलले नेपाली बजारमा उच्च प्रदर्शनयुक्त विद्युतीय सवारीको नयाँ अनुभव दिने अपेक्षा गरिएको छ ।

दैनिक आवतजावतका लागि मात्र सीमित नभई गति, शक्ति, आकर्षक डिजाइन र प्रिमियम सवारी अनुभवलाई प्राथमिकतामा राखेर किनेस  विकास गरिएको कम्पनीले जनाएको छ । आधुनिक प्रविधि र शक्तिशाली प्रदर्शन चाहने चालकलाई लक्षित गर्दै यो मोटरसाइकल बजारमा ल्याइएको हो ।

कम्पनीका अनुसार किनेसमा ११ किलोवाट क्षमताको उच्च प्रदर्शनयुक्त मध्य-सञ्चालित मोटर जडान गरिएको छ । जसले ३०० एनएम टर्क उत्पादन गर्छ । यसले तीव्र गति वृद्धि र उत्कृष्ट सडक प्रदर्शन सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । मोटरसाइकलले शून्यदेखि ५० किलोमिटर प्रतिघण्टाको गति केवल ३ सेकेन्डमै हासिल गर्न सक्ने तथा यसको अधिकतम गति १०० किलोमिटर प्रतिघण्टासम्म पुग्ने बताइएको छ । नेपालका विभिन्न सडक र उकालो बाटोलाई ध्यानमा राखेर डिजाइन गरिएको किनेसले २० डिग्रीसम्मको चढाइ सहजै पार गर्न सक्छ। यसले कठिन सडकमा पनि सहज र भरपर्दो सवारी अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

यसमा ४.६ किलोवाट-घण्टा क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसलाई स्मार्ट ब्याट्री व्यवस्थापन प्रणालीले सुरक्षित र भरपर्दो बनाएको छ। कम्पनीका अनुसार यसले ब्याट्रीलाई सुरक्षित ,भरपर्दो र आयु बढाउनुका साथै लामो समयसम्म स्थिर प्रदर्शन दिन सहयोग पुर्‍याउँछ। किनेसले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित रेड डट डिजाइन अवार्डसमेत प्राप्त गरिसकेको छ, जसले यसको आधुनिक डिजाइन र उन्नत प्रविधिलाई पुष्टि गर्ने बताइएको छ ।

कार्यक्रममा बोल्दै कुजु नेपालका प्रतिनिधिले किनेस केवल यातायातको साधन मात्र नभई शक्ति, प्रदर्शन र रोमाञ्चक अनुभवको संयोजन भएको बताए। उनले नेपालमा विद्युतीय मोटरसाइकलप्रतिको धारणा बदल्न यो मोडेलले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नेपालमा किनेसको मूल्य रु. ६ लाख ६० हजार तोकिएको छ। उच्च प्रदर्शन, नवीन प्रविधि र प्रिमियम सवारी अनुभव खोज्ने ग्राहकका लागि यो आकर्षक विकल्प बन्न सक्ने कम्पनीको अपेक्षा छ ।

सन् २००१ मा स्थापना भएको यादेआ हाल विश्वका १५० भन्दा बढी देशमा सेवा विस्तार गर्न सफल भइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्