काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा भएका विभिन्न आन्दोलनका क्रममा घाइते भएका जेनजी पुस्ताका युवाहरूको अनुभव, भोगाइ, वर्तमान समस्या र सुझावलाई केन्द्रमा राखेर काठमाडौँमा विशेष अन्तक्र्रिया कार्यक्रम आयोजना हुने भएको छ।
स्वतन्त्र नागरिक अभियान, नेपालको प्रस्तुतिमा असार ८ गते सोमबार दिउँसो १२ः३० बजे चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा कार्यक्रम तय गरिएको हो। जेनजी सडक र युथ फर नेसनले संयुक्त रूपमा यस कार्यक्रमको आयोजना गर्न लागेका हुन्।
आयोजकका अनुसार कार्यक्रममा आन्दोलनका क्रममा घाइते भएका युवाहरूले आफ्ना कष्टकर अनुभव, वर्तमान अवस्था र राज्यप्रतिको अपेक्षाहरू प्रस्तुत गर्नेछन्। युवाहरूका आवाज र रचनात्मक सुझावलाई सम्बन्धित निकायसम्म पुर्याई नीतिगत तहमा दबाब दिने उद्देश्यले खुला संवादको समेत व्यवस्था गरिएको आयोजक पक्षले जानकारी दिएको छ।
कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्राइम टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ। युवाहरूका अनुभव र आवाजलाई एकीकृत रूपमा सुनेर संवाद, सहकार्य र सकारात्मक परिवर्तनको यात्रालाई थप मजबुत बनाउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइएको छ।
अन्तक्र्रियामा विभिन्न सामाजिक अभियन्ता, युवा प्रतिनिधि, पत्रकार तथा सरोकारवाला निकायका व्यक्तिहरूको बाक्लो सहभागिता रहने जनाइएको छ।
कार्यक्रमको मुख्य नारा “युवाको आवाज, राष्ट्रको भविष्य” भन्ने तय गरिएको छ ।