नेभिगेशन
देश

दृष्टिविहीन शिक्षक राजेश अर्याल सगरमाथा आरोहणको तयारीमा, सहयोगका लागि अपिल

काठमाडौं, ११ भदौ । दृष्टिविहीन शिक्षक राजेश कुमार अर्यालले विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गर्ने घोषणा गरेका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले ‘दीगो पर्यटन, शान्ति, समृद्धि र वातावरणका लागि दृष्टिविहीन व्यक्तिको सगरमाथा आरोहण–२०२६’ नारासहित आरोहण अभियान अघि बढाउने जानकारी दिए।

दाङको तुलसीपुर उपमहानगरपालिका–४ का स्थायी बासिन्दा अर्याल हाल सल्यानमा प्राथमिक तृतीय श्रेणी शिक्षकका रूपमा कार्यरत छन्। उनले आवश्यक तयारी तीव्र गतिमा भइरहेको बताए।

यस अभियानलाई सफल बनाउन सहयोग संकलन समिति गठन गरिएको छ। संकलित रकम ग्लोबल्ली कन्सर्न सेन्टर फर क्लाइमेट चेन्ज (G4C) को बैंक खातामा जम्मा हुनेछ। G4C लामो समयदेखि जलवायु परिवर्तन तथा हिमाल संरक्षणसम्बन्धी अभियानमा सक्रिय संस्था हो। आरोहण व्यवस्थापन प्रकृति संरक्षण अभियन्ता तथा सगरमाथा आरोही पिके शेर्पा ले गर्नेछन् भने मिडिया व्यवस्थापन भक्सपप नेपालप्राइम टेलिभिजन मार्फत हुनेछ।

अर्यालले गत वर्ष पनि अभियान अघि बढाउने तयारी गरेका थिए, तर समय अभावका कारण सम्भव नभएको बताए। इन्द्रेणीसहित विभिन्न संस्था र व्यक्तिबाट संकलित सहयोग रकमलाई यसपालि अभियान अघि बढाउन प्रयोग गरिने छ।

सगरमाथा आरोहणको लागि मार्च अन्तिम साताको समय तोकिएको छ। त्यसभन्दा अगाडि नोभेम्बरमा ६ हजार मिटरभन्दा माथिको सानो हिमाल आरोहण गरेर अभ्यास गरिने छ।

कार्यक्रममा अर्यालले सहयोग र समर्थनका लागि अपिल गर्दै भने,
“साथ र समर्थन रह्यो भने म २०२६ मा सफल सगरमाथा आरोही बन्नेछु। व्यक्तिभन्दा व्यक्तिको आँट महत्वपूर्ण हुन्छ। मसँग त्यो आँट छ र सफल भएर फर्किन्छु भन्ने विश्वास पनि।”

उनका अनुसार आरोहणका लागि करिब एक करोड रुपैयाँ खर्च लाग्नेछ। स्वास्थ्य अवस्था फरक भएकाले समयावधि पनि सामान्य आरोहीभन्दा बढी लाग्ने जानकारी उनले दिए।

WhatsApp-Image-2025-08-27-at-20.07.58_0363804d-1756292552.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्