रामेछाप।
रामेछापको एक मात्र हिमाली स्थानीय तह, उमाकुण्ड गाउँपालिकामा अब नागरिकलाई वडामै पुगेर राष्ट्रिय परिचयपत्र विवरण संकलन र कार्ड वितरण सेवा उपलब्ध हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय रामेछाप र गाउँपालिकाको सहकार्यमा सुरु हुन लागेको यो सेवाबारे प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिएका छन्। उनका अनुसार, अघिल्लो वर्ष संकलन भएका थुप्रै परिचयपत्र जिल्ला प्रशासन कार्यालयमै थन्किएर बसेका छन्। ती कार्ड वडामा नै लगेर वितरण गरिनेछ भने नयाँ परिचयपत्र आवश्यक पर्ने नागरिकको विवरण संकलन गरी जिल्ला प्रशासन कार्यालयमा ल्याइनेछ। “यसले कार्यालयमा हुने भिड कम गर्नेछ, नागरिकको खर्च र सास्ती पनि घटाउनेछ,” थापाले भने।
गाउँपालिकाले तोकेको तालिकाअनुसार सबै वडामा सेवा सञ्चालन गरिने भएको छ।
भदौ १७ गते वडा नं ७ भुजी
भदौ १८ गते वडा नं ६ गुप्तेश्वर
भदौ १९ गते वडा नं ४ च्यादोलु
भदौ २० गते वडा नं ५ प्रीति
भदौ २१ गते वडा नं ३ कुबुकास्थली
भदौ २२ गते वडा नं २ बाम्ती भण्डार
भदौ २३ गते वडा नं १ गुम्देल
गाउँपालिकाले तोकिएको मिति र स्थानअनुसार आफ्ना वडामा पुगेर विवरण दर्ता गर्न र परिचयपत्र लिन सबैलाई आग्रह गरेको छ। यसअघि जिल्ला प्रशासन कार्यालयमा विवरण बुझाएर कार्ड तयार भइसकेका नागरिकले पनि वडा कार्यालयमै पुगेर आफ्नो कार्ड लिन सक्नेछन्।
प्रमुख जिल्ला अधिकारी थापाका अनुसार, देशको अन्य जिल्लामा नभएको यो कार्यक्रम विशेष रूपमा दुर्गम गाउँबस्तीका बासिन्दाको सहजताका लागि सुरु गरिएको हो।